काठमाडौ २ असोज ।
कोरिया काम गर्न जानहरुका लागि ईपीएस कोरियन भाषा परीक्षा आजबाट सुरु भएको छ ।
आज र भोली दुई दिनसम्म चल्ने परीक्षाको केन्द्र यसपटक राजधानी बाहिर पोखरामा पनि निर्धारण गरिएको इपिएस कोरिया शाखाले जनाएको छ ।
भाषा परीक्षामा साढे बाइस हजार सहभागी
2015-09-19 18:40
काठमाडौँ, २ असोज । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरियामा कामदारको रुपमा जान आज भएको छैठौं कोरियन भाषा परीक्षाको पहिलो दिनको परीक्षामा २५ हजार ५७० आवेदकमध्ये २२ हजार ६११ जना परीक्षार्थी सहभागी भएका छन् ।
इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार कूल ५१ हजार १३७ जना परीक्षार्थीले आवेदन दिएकोमध्ये बाँकीको भोलिका लागि परीक्षा तय गरिएको छ ।
आज काठमाडौँ उपत्यकाका परीक्षा केन्द्रबाट २० हजार ५३७ र पोखरा केन्द्रबाट दुई हजार ७४ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
यसवर्ष अनुमानित उत्तीर्ण सङ्ख्या सात हजार १०० हुने र जसअन्तर्गत उत्पादनमूलक क्षेत्रतर्फ चार हजार ९०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ दुई हजार दुई सय उत्र्तीण परीक्षार्थीलाई रोजगारीको अवसर दिइनेछ ।
भाषा परीक्षामा उत्कृष्ट अङ्क ल्याउने परीक्षार्थीले मात्रै सीप परीक्षणमा सहभागी हुन सक्नेछन् । भाषा परीक्षामा उत्तीर्ण भई सीप परीक्षामा उत्कृष्ट अङ्क ल्याउने परीक्षार्थीलाई प्राथमिकता साथ चरणबद्ध रुपमा रोजगारी दिन रोजगारदाता कम्पनीलाई सिफारिस गरिने निर्देशक बाँस्तोलाले जानकारी दिनुभयो ।
यसअघि जेठ ३० र ३१ गते परीक्षा हुने भनिएकामा विनासकारी भूकम्पको कारण आज र भोलिका लागि परीक्षा सरेको थियो । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालयबीच सम्पन्न समझदारी पत्रमा सम्झौता भएपछि विसं २०६५ सालदेखि प्रत्येक वर्ष कामदार पठाएको छ । जसअन्तर्गत करिब ५० हजार नेपाली रोजगारीका लागि कोरिया गइसकेका छन् ।
भाषा परीक्षाको नतिजा २०७२ असोज २१ गते प्रकाशन गरिने निर्देशक बाँस्कोटाले जानकारी दिनुभयो ।
यसैबीच काठमाडौँ उपत्यकाकाको विभिन्न परीक्षा केन्द्रमा अर्काको नाममा परीक्षा दिने १७ परीक्षार्थी पक्राउ परेका छन् ।
इपिएस शाखाका निर्देशक बाँस्तोलाका अनुसार उनीहरुलाई प्रहरीले हिरासतमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ ।