काठमाडौँ, १ असोज । तीनदिने नेपाल भ्रमणमा आएको रिपब्लिक अफ पोल्यान्ड सरकारको उच्च प्रतिनिधिमण्डलले आज विभिन्न सरकारी प्रतिनिधिसँग शिष्टाचार भेटवार्ता गरेको छ ।
पोल्यान्डका वित्त उपमन्त्री जिस्लअ गावलिकको प्रतिनिधि मण्डलले उद्योग मन्त्री महेश बस्नेत, वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापा र आपूर्ति राज्यमन्त्री गिरिबहादुर केसीसँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेको हो ।
उद्योगमन्त्री महेश बस्नेतसँगको भेटमा उहाँहरुबीच दुई देशबीच औद्योगिक प्रर्वद्धन तथा प्रविधि हस्तान्तरणका विषयमा छलफल भएको उद्योग मन्त्रालयको निजी सचिवालयले जनाएको छ ।
साथै वित्त उपमन्त्री गावलिकले नेपालमा खाद्य प्रशोधन उद्योग स्थापनाका र वीरगन्ज चिनी कारखानाका विषयमा चासो व्यक्त गर्नुभएको थियो ।
उद्योग मन्त्री बस्नेतले उपमन्त्री गावलिकले राखेका विषयमा सकारात्मक रुपमा लिएको जनाउनुभयो ।
त्यसैगरी वाणिज्य तथा आपूर्तिमन्त्रीद्वयसँग पनि विभिन्न लगानीका सम्भावनाबारे कुराकानी भएको बुझिएको छ ।
उपमन्त्रीसँगै आएको व्यावसायिक टोलीले आजै खानी तथा भू–गर्भ विभाग र नेपाल आयल निगमका उच्च पदाधिकारीसँग भेटवार्ता गरेको छ ।
प्रतिनिधि मण्डलमा पाँच जना कूटनीतिक र १३ जना व्यावसायिक प्रतिनिधि गरी १८ जना छन् । बिहीबार नेपाल आएको उक्त टोली भोलि स्वदेश फर्कने जनाइएको छ ।
सन् १९५९ मा नेपाल–पोल्यान्डबीच दौँत्य सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच सुमधुर सम्बन्ध रहिआएको छ । पोल्यान्डका नागरिक हिमाल आरोहण र पर्यटनका निम्ति आउने क्रम पनि बढ्दो रहेको छ ।
यसअघि दिउँसो रासससँगको सङ्क्षिप्त कुराकानीमा पोल्यान्डका वित्त उपमन्त्री जिस्लअ गावलिकले भूकम्पपछि नेपाल सुरक्षित रहेको सन्देश आफ्नो देशमा प्रवाह गर्ने बताउनुभयो ।
नेपाल लगानीको सम्भावना भएको मुलुक भएकाले कुनकुन क्षेत्रमा कस्तो लगानी गर्न सकिन्छ भनेर अध्ययन गर्न आएको उल्लेख गर्दै उहाँले यहाँको आवश्यकताअनुसार आफूहरुको इच्छा र लगानी हुने बताउनुभयो ।
खासगरी पोल्यान्डले खानी, ऊर्जा र कृषिजन्य उत्पादनमा लगानी गर्ने इच्छा जनाएको छ ।
पछिल्लो समय नेपाली विद्यार्थी र कामदार पोल्यान्ड जानेक्रम बढिरहेको छ ।