भक्तपुर, १ असोज ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा सामुहिक पूजा आजा गरी नेपाली महिलाहरुले ऋषि पञ्चमी मनाएका छन् ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले महिलाहरुका लागि पूजाआजाको व्यवस्था मिलाएको समितिका सचिव मोहन बल्लले जानकारी दिनुभयो । ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याहृनमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राहृमणलाई दानदक्षिणा दिने प्रचलन छ ।
हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ । ऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ ।