काठमाडौँ, १ असोज । विश्व पर्यटन दिवसका अवसरमा पोखरामा यही असोज दोस्रो हप्ता प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ ।
नेपाल हवाई खेलकुद संस्थाले आज यहाँ पत्रकार सम्मेलन गरी असोज ९ र १० गते प्याराग्लाइडिङ, अल्ट्रा लाइट, पावर प्याराग्लाइडिङलगायत प्रतियोगिता गर्ने जानकारी दिएको हो । प्रतियोगिता तयारीका लागि संस्थाका संयोजक नतासा श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता तयारी समिति गठन गरिएको छ । संस्थाका अध्यक्ष शोभित बानियाँले प्रतियोगितामा विश्वका २५ देशका २५० प्रतियोगीलाई सहभागी गराइने जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धनका लागि १५ वर्षदेखि पोखरामा प्याराग्लाइडिङ हुँदै आएको छ ।
कास्की जिल्लाको सराङकोटबाट विभिन्न ध्वजा, पताका तथा वेशभूषामा सजिएका पाइलटहरुले आकाशमा प्याराग्लाइडिङ गर्ने संस्थाका महासचिव वसन्तराज दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पबाट नेपाल सुरक्षित रहेको र साहसिक खेलको गतिविधि निरन्तर भइरहेको सन्देश दिन यो प्रतियोगिताको आयोजना गर्न लागेका हौँ ।”