गोदावरी मेलामा पचपन्न लाखले गरे दर्शन

गोदावरी मेलामा पचपन्न लाखले गरे दर्शन

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

गोदावरी, ३१ भदौ । १२ वर्षमा एकपटक वृहस्पति सिंह राशिमा आएपछि बृहस्पति अस्त भई बन्ने ग्रह गोचरीय योगका अवसरमा लाग्ने ललितपुरको गोदावरी मेला आज सम्पन्न हुने भएको छ ।

मेला व्यवस्थापन मूल समारोह समितिका अध्यक्ष ललितपुरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले अपराह्न १२ बजे सूर्यलाई अर्घ दिई धार्मिक कृत्यअनुसार मेला समापन गर्नुभयो । धार्मिक विधिअनुसारका काम सम्पन्न भए पनि आज राति १२ बजेसम्म मेला चल्ने प्रजिअ कोइरालाले बताउनुभयो ।

मेलामा दिउँसोभन्दा राति धेरै स्नानार्थी आउने गरेका छन् । दिउँसो धेरैजसो मानिस घुम्ने उद्देश्यले आउने र रातिमा स्नान एवम् गोदावरी कुण्डसँगै रहेको सिद्धेश्वर महादेवको दर्शन गर्न आउने गरेको १२ वर्षे गोदावरी मेला व्यवस्थापन मूल समितिले जनाएको छ ।

दिउँसो जानेलाई महादेव मन्दिरसँगैको कुण्डमा स्नान गर्न नदिने भएकाले राति निद्रा मारेर स्नान गर्न आउनुपरेको भक्तपुरको सूर्यविनायकबाट आउनुभएका शिवराम सापकोटा बताउनुहुन्छ । “ऐतिहासिक स्थलमा १२ वर्षमा लाग्ने मेलामा पनि दिउँसो स्नानको व्यवस्था गर्न नसक्नु समिति र स्थानीय प्रशासनको कमजोरी हो, यो कमजोरीले दिउँसो घुम्न र राति स्नान गर्न आउन बाध्य भयौँ”– एउटै मेलामा दुईपटक आउनुपरेको गुनासो सुनाउँदै उहाँले भन्नुभयो ।

मेलामा बिहीबार अपराह्नसम्म ५५ लाख भक्तजनले स्नान र दर्शन गरेको समितिका अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । “सिंह अस्त मेला भदौ ३१ गते राति १२ बजे सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गरेपछि सकिनेछ, भोलि असोज १ गते विशेष समारोह आयोजना गरी समापन गर्ने तयारीमा छौँ”–उहाँले भन्नुभयो ।

देश विदेशका धार्मिक पर्यटक आउने मेलाको व्यस्थापन राम्रो नभएको आगन्तुकले गुनासो गरेका छन् । समितिले रसिद नकाटी दक्षिणा लिने, चुरोट नखाऔँ भनेका स्थानमा स्वयंसेवकको बिल्ला लगाएकाले नै धुम्रपान गर्ने र महिला स्नान गरेका स्थानमा पुरुष स्वयंसेवकले जिस्क्याउने एवम् पानी छ्याप्ने जस्ता विकृति देखिएको मेलामा सहभागी भएका गोलढुङ्गाका रामहरि नेपालले जानकारी दिनुभयो ।

मेला व्यवस्थापन समितिका संयोजक मधुसूदन पौडेल कमीकमजोरी भएको स्वीकार्दै यसपटकका कमी कमजोरीलाई सुधार्न शिक्षाका रुपमा ग्रहण गरिने बताउनुहुन्छ । “सुधार्नका लागि भौतिक संरचनाको आवश्यकता पर्ने हुनाले यसपटक चन्दाबाट उठेको रु ४० लाखभन्दा बढी रकम सुधारमा खर्च गछौँ, अन्य शीर्षकमा मास्दैनौँ, जसबाट १२ वर्षपछिको मेलामा अहिलेका कमी कमजोरीलाई सुधार्न सकिने विश्वास लिएका छौँ”–उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी