भक्तपुर, भदौ ३० । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताउनु भएको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री यादवले संविधानमा महिलाको बारेमा समान र वंशीय अधिकार उल्लेख भएको हुदाँ अब महिलाले आफ्नो अधिकारको लागि कोहीसँग पनि हात थाप्न नपर्ने मन्त्री यादवले दावी गर्नु भयो ।
कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो– ‘सबैको हक अधिकार समेटेर संविधान आउन लागेकाले कसैले पनि विरोध गर्न हुदैन बरु चित्त नबुझेका कुरा पछि संशोधन मार्फत मिलाउन सकिन्छ’ ।
मन्त्री यादवले हिन्दु नारीहरुले मनाउने हरितालिका तीज पर्वलाई महिला शसक्तिकरणको पर्वको रुपमा मनाउन पर्नेमा जोड दिनु भयो ।
उक्त अवसरमा विकाा्स समितिका वरिष्ठ उपाध्यक्ष किरण थापा, महिला उपाध्यक्ष निर्मला सञ्जेल, मूल पुजारी बच्चुराम जंगम, रफत संचार क्लबका अध्यक्ष सुशिलबन्धु थापाले मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकेमा भक्तपुरका स्थानियको आर्थिक उन्नतीमा टेवा पुग्ने बताए ।
देशका विभिन्न स्थानबाट मन्दिरमा दर्शन गर्न भेला भएका महिला भक्तजनहरुसंग मन्त्री यादवले केहि समय नृत्य गरेर साथ दिएकी थिइन् ।