काठमाण्डौ, ३० भदौ ।
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकसहितका केही मधेसी दल संविधान निर्माण प्रक्रियामा फर्कने भएका छन् ।
गच्छदार नेतृत्वक संघीय मधेसी मोर्चा संविधान निर्माण प्रक्रियामा सहभागी हुने सम्भावना बढेको हो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलछि मोर्चाले संविधान निर्माणमा सहभागी हुने संकेत दिएको हो । तर उसले संविधान निर्माणप्रक्रियामा सहभागी हुनका लागि आफ्ना केही मागहरूको संवोधन हुनुपर्ने अडान लिएको छ ।
मोर्चाले आफ्ना चारबुँदे मागहरू सीमांकन परिवर्तन गरिनुपर्ने, समानुपातिक समावेशी सहभागिता सुनिश्चित हुनुपर्ने, निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी अन्तरिम संविधानको व्यवस्थालाई निरन्तरता दिनुपर्ने र प्रदेशको कामकाजी भाषा स्थानीय राख्न पाउने व्यवस्था भए संविधान निर्माणमा फर्कने जनाएको हो ।
संविधानको विधेयकमा मतदान भएर संविधान निर्माण अन्तिम चरणमा पुगिरहेका बेला मोर्चालाई संविधानसभामा ल्याउन तीन ठूला दलले केही समययता निरन्तर संवाद गरिरहेका छन् । मोर्चाले भने आफ्ना मागहरू पुरा हुने ग्यारेन्टी भएमात्र संविधान निर्माणमा सहभागी हुने स्पष्ट जवाफ दिएको छ ।