इटहरी, २९, भाद्र ।
सुनसरी को इटहरी–७ मा रहेको सरस्वती सदन मा.वि. ले “पुननिर्माण र संविधानमा बाल अधिकारको संरक्षण हाम्रो अभियान” भन्ने राष्ट्रिय मूल नाराका साथ २४ औँ बाल दिवस मनाएको छ ।
सोहि अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गरेको छ । अतिरिक्त क्रियाकलाप तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि विद्यालय निरीक्षक श्री देवेन्द्र मल्ल र विशिष्ट अतिथि श्रोत व्यक्ति श्री लक्ष्मी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री जनकलाल सरदारको सभापतित्वमा सञ्चालन भएको थियो ।
सोही कार्यक्रममा बेलुन फुटाउने खेल, गुच्चा दौड, हिसाब दौड, सेन्स एण्ड मेमोरी, म्युजिकल चेयर जस्ता अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय, र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण साथै २०७१ सालको बार्षिक परीक्षामा उत्कृष्ट भएका सम्पूर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
साथै जनता बहुमुखी क्याम्पस इटहरीबाट अभ्यास शिक्षणका लागि आएका विद्यार्थीहरुद्वारा विद्यालय परिसरमा वृक्षारोपण समेत सोही अवसरमा गरेका थिए । बृक्षारोपण कार्यक्रमको उद्घाटन बि.नि., स्रोत व्यक्ति साथै विद्यालयका प्रधानाध्यापक श्री भगतलाल चौधरी र सम्पुर्ण अतिथिहरुबाट भएको थियो ।
विद्यालय परिसरमा वातावरण स्वच्छ राख्न साथै पछि विद्यालयको आर्थिक स्तर उकास्न पनि बृक्षारोपण कार्यक्रमले सहयोग गर्ने भएको हुँदा विद्यालयमा टिक, मसला, सिरिस जस्ता विरुवा रोपिएको र विद्यालयको सहयोगमा जनता ब.क्याम्पस इटहरीबाट आएका अभ्यास शिक्षणको टोलीको नेतृत्वमा गरिएको अभ्यास शिक्षणका विद्यार्थी प्रमोद भट्टराईले बताए ।
सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किएको बेला र समुदायका सरकारी विद्यालयमा अभिभावकहरुले विद्यालय नपठाउने र शैक्षिक रुपमा अलिकति उच्च रहेको परिवारले पनि निजी बोडिङ्गहरुमा आफ्ना छोराछोरी पढाइ रहेको बेला यो विद्यालयमा भने बोडिङ्ग स्कुलबाट पनि केही विद्यार्थी यहाँ पढ्न आएको शिक्षकहरु बताउँछन् । मुस्लिम समुदायको बाहुल्यता रहेको सो विद्यालयमा अधिकाँश गरिब समुदायका विद्यार्थीहरु अध्ययन गर्न आउने गरेकाछन् ।
सोही कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्लायका प्र.अ. भगत लाल चौधरीले सम्पूर्ण अभिभावक, शिक्षकको सहयोगमा विद्यार्थीको अन्तरनिहित प्रतिभाहरुलाई बाहिर ल्याउनको लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको र भावि दिनहरुमा पनि यस्तै कार्यक्रमहरु सञ्चालन गर्दै विद्यालयको शैक्षिक गुणस्तर बृद्धि विकास गर्दै लैजाने बताउनु भयो । साथै सोही कार्यक्रमका अतिथि जनता उच्च माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष विकल रेग्मीले आफुले पहिला आउँदा र आजका दिनमा यो विद्यालयमा आउँदा फरक अनुभुति गरेको र विद्यालयको गुणस्तर पहिलाको तुलनामा धेरै मात्रामा राम्रो रहेको बताउनु भयो ।
साथै कार्यक्रम सञ्चालक तथा विद्यालयका शिक्षक श्री वासुदेव कर्णले आफुहरुले विद्यालयमा नयाँ शैक्षिक गतिविधि सञ्चालन गरेको र आफू यस विद्यालयमा आइकन धेरै प्रभावकारी कार्य गरेको बताउनु भयो । साथै उहाँले शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिले यसैगरी साथ सहयोग गरेमा यो विद्यालय लाई सुनसरीकै नमुना विद्यालयको रुपमा स्थापित गर्न सकिने बताउनु भयो ।