काठमाण्डौ,२९ भदौ ।
काभ्रेपलाञ्चोकका दुई गाविसको तीन सामुदायिक वनमा दिगो वन व्यवस्थापनअन्तर्गत झन्डै एक हजार ७१८ सल्ला जातको रुख काटिएका छन ।
सामुदायिक वन र कृषि वन प्रणालीअन्तर्गत जीविकोपार्जन र खाद्य सुरक्षा परियोजनाले जिल्लाको कोसीपारिस्थित चाँपपानी सामुदायिक वन, फागुरखोला सामुदायिक वन चौबास र कालापानी सामुदायिक वन ढुङ्खर्कमा रुख कटान गरेको जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
सो परियोजनाले काटेको सल्लाको रुखबाट करिब ३.२२ हेक्टर क्षेत्रफलबाट झन्डै नौ हजार ४६० क्युफिट काठ निस्केको र सो काठ भूकम्पपीडित परिवारलाई नै वितरण भएको जिल्ला वन कार्यालय, धुलिखेलका डिएफओ गणेश रायले जानकारी दिनुभयो ।
डिएफओ रायले जिल्लाका १२ सामुदायिक वनमा दिगो वन व्यवस्थापनको कार्यक्रम सुरु भएको जानकारी दिँदै अहिले कोसीपारिका दुई र ढुङ्खर्कको एउटा सामुदायिक वनमा सो कार्यक्रम लागू गरिएको बताउनुभयो । पाँच वर्षको दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लामा नाङ्गा डाँडामा वृक्षरोपणसमेत गरीएको छ ।