काठमाडौँ, २९ भदौ ।
संविधानसभाको आजको बैठकमा ‘नेपालको संविधानको परिमार्जन विधेयक, २०७२’ आगामी असोज ३ गते संविधान जनतासमक्ष प्रारम्भ भएको घोषणा गर्ने मिति निर्धारण सम्बन्धी प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
बैठकमा प्रमुख तीन दलका तर्फबाट ‘नेपालको संविधान नेपाली जनतासमक्ष प्रारम्भ भएको घोषणा गर्ने मिति निर्धारणसम्बन्धी प्रस्ताव’ प्रस्तुत भएको थियो । नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ प्रस्तावक रहनुभएको सो प्रस्तावमा नेकपा एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल समर्थक रहनुभएको छ ।
सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले पारित भयो । सो मितिमा संविधान घोषणा गर्ने कार्यक्रमबारे सभाध्यक्ष सुवास नेम्वाङले आज बिहान राष्ट्रपति डा रामवरण यादवलाई औपचारिक निमन्त्रणा दिइसक्नुभएको छ ।
पारित प्रस्तावमा ‘संविधानसभा नियमावली, २०७० को नियम ११० को उपनियम ९३० बमोजिम संविधानसभाबाट पारित भई अध्यक्षद्वारा प्रमाणित भएको संविधानमा संविधान प्रारम्भ हुने भनी निर्धारण गरिएको मितिमा संविधानसभाले औपचारिक राष्ट्रिय समारोहको आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपतिसमक्ष पेस गर्नेछ र सोही समारोहमा नेपालको संविधान नेपाली जनतासमक्ष संविधान प्रारम्भ भएको घोषणा गर्ने उल्लेख छ ।
सो समारोह असोज ३ गते अपराह्न ५ बजे संविधानसभा भवनमा हुनेछ ।