काठमाडौँ, २९ भदौ ।
विभिन्न माग राखेर आठ दिनदेखि आमरण अनशन बस्दै आउनुभएका बहुजन शक्ति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
संविधानसभा भवन अगाडि अनशन बस्दै आउनुभएका पासवानलाई डाक्टरले आइसियुमा राख्नुपर्ने सुझाव दिएका छन । उहाँको स्वास्थ्यमा पिसाव, मिर्गौला, सुगर, प्रेसरलगायतका समस्या देखिएको दलित अधिकार सङ्घर्ष समितिका अध्यक्ष तथा पूर्वसभासद् विनोद पहाडीले जानकारी दिनुभयो ।
सभासद् पासवान राज्यका सबै अंग । तह, निकाय र संरचनामा १४ प्रतिशत दलित, १५ प्रतिशत पिछडा वर्ग, १० प्रतिशत मुस्लिम र ३७ प्रतिशत आदिवासी जनजातिको आरक्षित कोटाको संवैधानिक सुनिश्चितता गरिनुपर्ने र भ्रष्टाचारी तथा बलात्कारीलाई कडा कानुन बनाएर लागू गर्नुपर्नेलगायतका माग गरेर आमरण अनशन बस्दै आउनुभएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले औपचारिक रूपमा पत्र पठाएर अनशन तोड्न आग्रह गरे पनि अनशनकर्मी पासवानले आफ्ना सबै माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउँदै आउनुभएको छ ।