काठमाडौ २९ भदौ । संविधानसभामा आज पनि संविधानको विधेयक तथा संशोधन प्रस्तावमाथि मतदान हुदैछ ।
बिहान १० बजेका लागि बोलाइएको बैठकमा विधेयकका बाँकी धारा र संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसुची रहेको संविधानसभा सचिवालयले जनाएको छ ।
मतदान प्रक्रिया सुरु भएको दोस्रो दिन हिजो धर्मनिरपेक्षता, नागरिकता लगायतका व्यवस्था समेटिएको संविधान विधेयकका ५७ वटा धारा पारित भएका छन् ।
ती मध्ये १३ वटा धारा सर्वसम्मतिले पारित गरेको थियो भने १० वटा संशोधन सहित पारित भएका थिए । बाँकी धारा भने संविधान सभामा उपस्थित सदस्यहरुले बहुमतले पारित गरेका हुन् ।
यसअघि आइतबारको बैठकबाट संविधानको धारा १,२ र ३ पारित गरेको थियो । संविधानसभा नियमावली अनुसार संविधानको धारा पारित गर्न कुल सदस्य संख्यको कम्तीमा दुई तीहाई सभासद उपस्थित बैठकको दुई तिहाई मत आवश्यक पर्छ ।
विधेयकका सबै धारा अनुसुची र प्रस्तावना ध्वनी मतका आधारमा पारित भएपछि समग्र विधेयक एकमष्ट पारित गर्दा भने सभासदले पक्ष वा विपक्षमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था रहेको छ ।