काठमाडौँ, २८ भदौ ।
कृषि विकास मन्त्रालयले मुक्त कमैया, कम्लरी, हलिया, चेपाङ, राउटे र मुसहरलगायत सीमान्तकृत तथा भूमिहीन समुदायलाई लक्षित गरी चालु आव २०७२÷०७३ को लक्ष्य तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
अर्थ, वन तथा भू–संरक्षण र कृषि विकास मन्त्रालय तथा महालेखापरीक्षकको कार्यालयले यहाँ आज संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहायक प्रवक्ता शङ्कर सापकोटाले चालु आवमा एक गाविस एक प्राविधिकको व्यवस्थापन गर्न तीन हजार गाविसमा कृषि÷पशु सेवा प्राविधिकको व्यवस्था गरिएको बताउनुभयो । धान, दूध र तरकारी उत्पादनमा तीन वर्ष्भित्र आत्मनिर्भर हुन सघाउ पु¥याउने कार्यक्रम समेत रहेको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले भूकम्पपछि नेपालको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि चालु आवमा रु ९१ अर्ब विनियोजन गरिएको रु २०० अर्बको पुनःनिर्माण कोष–स्थापना गरी रु २० अर्ब जम्मा गरिएको जानकारी दिनुभयो ।
वन मन्त्रालयका सहप्रवक्ता यज्ञनाथ दाहालले मुलुक सङ्घीय संरचनामा प्रवेश गरेपछि वन तथा त्यसअन्तर्गतका निकायको प्रशासनिक तथा व्यवस्थापकीय पुनःसंरचनासम्बन्धी संक्रमणकालीन व्यवस्थापनको मस्यौदा योजना तयार गरिएको जानकारी दिनुभयो ।
महालेखापरीक्षकको कार्यालयका प्रवक्ता बाबुराम ज्ञवालीले आव २०७१÷०७२ को आर्थिक कारोबारको लेखापरीक्षण सुरू भई ४३ जिल्लामा एकल र अन्य जिल्लामा आवश्यकताअनुसार टोली खटिएको बताउनुभयो