काठमाडौँ, २७ भदौ ।
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्छु भन्ने पक्षहरुले संविधान निर्माण प्रक्रियामा सहभागी हुनैपर्ने बताउनुभएको छ ।
‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा’ सहभागी सभासद्हरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले संविधान निर्माण प्रक्रियालाई सफल तुल्याएर जनतालाई अधिकार सम्पन्न बनाउनु आजको प्रमुख दायित्व रहेको बताउनु भयो ।
जनताले दिएको मतलाई अपमान गर्ने अधिकार कुनै पनि दल र नेतालाई नभएको बताउँदै सभापति सिटौलाले मैले भनेको मात्रै लोकतन्त्र हो, अरुले भनेको चाहिँ केही होइन त्यसैले हामी मान्दैनाँै भन्ने प्रवृत्ति प्रजातान्त्रिक संस्कार नभएको उल्लेख गर्नुभयो ।
निर्वाचित भएर आएपछि जनताको मतको कदर गर्नुपर्छ भन्दै उहाँले स्थिति अझै नबिग्रिसकेकाले आन्दोलनरत पक्षलाई संविधानसभामा सहभागी भएर आफ्नो मत राख्न सुझाव दिनुभयो ।
संविधान लेखन र राष्ट्रपतिसँग जोडेर सञ्चारमाध्यममा आएका विषयवस्तुप्रति लक्ष्यित गर्दै उहाँले भन्नुभयो – “संविधानभन्दा माथि कोही छैन, प्रेसमा आएजस्तो कुरा राष्ट्रपतिबाट भयो भन्ने म विश्वास गर्दिनँ ।”
सभापति सिटौलाले संविधान जारी भइसकेपछि पनि प्रमुख राजनीतिक दलबाट सबैलाई मिलाएर जाने निरन्तर कोसिस हुने विश्वास दिलाउँदै संविधान जारी गर्ने र लोकतन्त्रलाई संस्थागत गर्ने काममा सञ्चार क्षेत्रबाट समेत सकारात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
सो बैठकमा सभासद्हरुले पेस गर्नुभएको संशोधन प्रस्ताव, संविधानका धारा र अनुसूचीमाथि मतदान लागि निर्णयार्थ पेस गर्ने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जानकारी गराउनुभयो।