काठमाडौँ, २७ भदौ ।
प्रधानमन्त्री सुशील कोइरालाले संघीयता,गणतन्त्र, लोकतन्त्रसहितको समावेशी संविधान जारी गर्ने अन्तिम प्रयासमा प्रमुख राजनीतिक दलहरु लागिपरेको बताउनु भएको छ ।
संबिधान सभाको बैठकमा कोइरालाले भन्नुभयो “शान्ति प्रक्रियालगायत ठूल्ठूला समस्या समाधान गर्न विगतमा हामी सफल भयाँै, अहिले पनि संविधान जारी गर्न सफल हुनेछाँै ।”
को मधेसी, को पहाडी, को हिमाली भन्ने स्थिति आउन दिन नहुने उल्लेख गर्दै उहाँले सबै समुदायसँग सुमधुर सम्बन्ध कायम राखेर अगाडि बढ्नुपर्ने र संविधानसभाबाट संविधान जारी गर्ने अठोट पूरा गर्न सबैको सकारात्मक सहयोग आवश्यक पर्ने बताउनुभयो ।
जनताको अधिकार संस्थागत गर्ने महत्वपूर्ण घडीमा मुलुक आइपुगेको भन्दै प्रधानमन्त्रीले आन्दोलनको नाममा सामाजिक विद्वेष फैलाउने, आर्थिक गतिविधि रोक्ने काम भएकामा असन्तोष प्रकट गर्नुभयो ।
आन्दोलनका क्रममा घाइते भएकाको उपचार, निधन भएका आफन्तलाई उचित राहत उपलब्ध गराइने जानकारी दिँदै उहाँले वार्ता र संवादमा आउन आन्दोलनरत दललाई आग्रह गर्नुभयो ।
हिंसात्मक घटनाका कारण स्थानीयस्तरमा सुरक्षाका लागि नेपाली सेना परिचालन गरिए पनि सेनामाथि अनावश्यक आरोप लगाइएको, सभासद्को घर जलाइएको र प्रहरीको हत्या गरिएको भन्दै प्रधानमन्त्रीले त्यस्ता घटनालाई निरन्तरता दिने हो भने मुलुक द्वन्द्वमा फस्न गई लोकतन्त्रका लागि अहिलेसम्म भएका सबै प्रयास बालुवामा पानी हालेसरह हुने धारणा राख्नुभयो ।
कानुनी शासन, लोकतन्त्र र अधिकार स्थापनाको ऐतिहासिक अवसरलाई अन्तर्रा्ष्ट्रिय समुदायले पनि समर्थन जनाउने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रिय स्वाभिमानका लागि सङ्कल्प गर्नुपरेको बताउनुभयो ।