काठमाण्डौ,२६ भदौ ।
ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिर्तामोड, झापाले आज बिर्तामोडमा आयोजित कार्यक्रममा १०८ वर्षीया वृद्धालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा जशोदा वन हुनुहुन्छ । उहाँलाई बिर्तामोडस्थित अतिथि सदनमा आयोजित तीज विशेष कार्यक्रममा सम्मान गरिएको थियो । उहाँलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । उहाँसँगै ९५ वर्षीया कौशीला गिरी र ८७ वर्षीया धनलक्ष्मी गिरी समेत सम्मानित हुनुभएको थियो ।
सहकारीका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तथा सहकारीका संरक्षक गोविन्दविक्रम गिरी, दशनामी समाजका झापा अध्यक्ष चन्द्रप्रसाद गिरी, दशनामी समाजका सल्लाहकार संयोजक लवकुश गिरी, जिल्ला सदस्य प्रकाश पुरी, अर्जुन गिरी, टेकबहादुर गिरीलगायतले बोल्नुभएको थियो ।