काठमाडौं, २६ भदौ ।
सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले सामाजिक सञ्जालमा आएका सबै कुराको विश्वास नगर्न आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जालमा आएका कतिपय सामग्रीले अहिलेको राजनीतिक अवस्थालाई आगोमा घ्यु थप्ने काम गरेकोले सबै कुरामा विश्वास नगर्न मन्त्री रिजालको भनाई छ ।
शनिबार बुटवलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले सामाजिक सञ्जाल मिडीया नभएको र त्यसमा आएका कतिपय सामग्रीले एक अर्कालाई भड्काउने काम गरेको बताउनुभयो ।
उहाँले अभिव्यक्ती स्तन्त्रताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको भन्दै पत्रकारले लेख्ने कुरामा प्रतिबन्ध नलाग्ने तर लेखेको र छापेको कुरामा भने पत्रकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
मन्त्री रिजालले आफूलाई मन परेको मात्र नभई मन नपरेको कुरा पनि संविधानमा हुन्छन् भनेर बुझ्न आन्दोलनरत पक्षलाई आग्रह गर्नुभयो ।
सबैले आफूलाई मन नपरेको कुरा हटाउँदै जाने हो भने संविधान कागजको खोस्टो मात्र हुने उहाँले बताउनुभयो ।