काठमाडौँ, २५ भदौ । नेपाल–भारत जल तथा ऊर्जा सम्बन्धबारे लेखिएको पुस्तक ‘जल सपना’ सार्वजनिक गरिएको छ ।
विद्यार्थी पुस्तक भण्डारणद्वारा प्रकाशित सो कृति नेपालको जलविद्युत् विकास र यससँग जोडिएको घरेलु राजनीति, परराष्ट्र नीति, भारतसँगको सम्बन्ध, ऊर्जा विकास र व्यवधानका विविध पक्षमाथि तयार पारिएको छ ।
संविधानविद् नीलाम्बर आचार्यले कृति लोकार्पण गर्दै पुस्तक नेपालको जलस्रोत मात्र नभई राजनीतिक विकास र परराष्ट्र सम्बन्ध तथा राष्ट्र निर्माणमा समेत जोडिएकाले पठनीय रहेको बताउनुभयो ।
पुस्तकमाथि समीक्षा गर्दै लेखक सौरभले विषयवस्तुको गहिरो अध्ययनसहित पुस्तकमा विवादका कुरा राख्न सक्नु लेखकको क्षमता हो भन्नुभयो । राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले निकै बहसका विषय पस्केर विकासकर्मी तथा राजनीतिकर्मीमा विकासको सकारात्मक सोच निर्माणमा पुस्तक महत्वपूर्ण हुने बताउनुभयो ।
विद्युत्विकास विकासका पूर्वमहानिर्देशक डिबी सिंहले नेपाल सरकारले धेरै पटक अपरिपक्व निर्णय गर्दा जलस्रोतसम्बन्धी विकास नभएको र राजनीतिक दलका अराष्ट्रवादी चिन्तन र व्यवहारका कारण नै ऊर्जा क्षेत्रमा प्रगति नभएको विचार व्यक्त गर्नुभयो ।