काठमाडौँ, २५ भदौ ।
काठमाडौँका बौद्घ धर्मावलम्बीहरुले शुक्रवार दान प्रदान गरी ‘पञ्चदान’ पर्व मनाए ।
काठमाडौँका बौद्धहरुले घर चोखो गरी तयार पारेको खिर भोजनसहित चामल, काँचो केराउ, मासको दाल, चिनी, नुन, पैसा आदि शाक्य र बज्राचार्य कुलका कुलपुत्रहरु दान गर्ने परम्परा छ । यी समुदायका कुलपुत्रहरु कम्तीमा सात घरमा भिक्षाटनमा जानुपर्छ ।
शुक्रवार दिनभर काठमाडौँका टोल टोल र चोक चोक दान दिइरहेको देखिन्थ्यो ।
सामूहिक पञ्चदान मूल समारोह समितिका सचिव मञ्जुश्रीरत्न बज्राचार्यका अनुसार पञ्चदानको परम्परा दिङ्पकर बुद्धको पालादेखि चलिआएको विश्वास गरिन्छ ।
समितिको तत्वावधानमा आज भगवान् बहालस्थित थँबही ९विक्रमशील महाविहार० बाट सामूहिक रुपमा पञ्चदान ग्रहण गर्ने कार्यक्रम सुरु गरिएको छ । सहभागीहरु काठमाडौँका विभिन्न ४५ वटा विहार, बहाल तथा बहीहरु घुमेर लगनटोलस्थित लगंबहालमा पञ्चदान ग्रहण सम्पन्न गरिँदैछ ।
पञ्चदानबाट प्राप्त सङ्कलित रकम लुिम्बनीमा निर्माणाधीन बज्रयान बौद्ध विहार निर्माणका लागि हस्तान्तरण गरिने सचिव बज्राचार्यले जानकारी दिनुभएको छ । सामूहिक पञ्चदानको यो कार्यक्रम सात वर्षदेखि सञ्चालन हुँदैआएको छ ।

