उदयपुर, भदौ २४ गते ।
हिमालय टेलिभिजनका उदयपुर सम्बाददाता यमन दनुवारलाई आन्दोलनकारीहरुले विहिबार सिरहाको लहानमा दुब्र्यवहार गरेका छन् ।
लहानबजारको सप्तर्षि हस्पिटल नजिकै आन्दोलनकारीहरुको एक समूहले पत्रकार दनुवारलाई बन्दको फोटो खिच्ने क्रममा दुब्र्यवहार गरेको पत्रकार दनुवारले बताउनुभयो । पत्रकार भन्ने परिचय दिएपनि आन्दोलनकारीहरुले आफुहरुको समाचार प्रकाशन प्रशारण नगरिदिएको भन्ने आक्रोस पोख्दै दुब्र्यवहार गरेको उहाँले बताउनुभयो । पत्रकार दनुवारले लगाइ राखेको हिमालय टेलिभिजनको एप्रोन, परिचयपत्र, डायरी र कलमसमेत खोसेर च्यात्दै जलाएको दनुवारले बताउनुभयो ।
पत्रकार दनुवारले प्रयोग गरेको मोटरसाईकलसमेत जलाउन खोजेका आन्दोलनकारीहरुबाट भागेर बचेर गाईघाट आईपुग्नु भएको थियो । स्थानीय संघीय राज्य साप्ताहिकका प्रकाशक सम्पादकसमेत रहेका पत्रकार दनुवार नेपाल पत्रकार महासंघ शाखा उदयपुरका कार्यसमिति सदस्य, आदिबासी जनजाति पत्रकार महासंघका केन्द्रिय सदस्य र क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य हुनुहुन्छ ।
सिरहाका प्रमूख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले पत्रकारमाथि दुब्र्यवहार भएको जानकारी पाएको बताउनुभयो । आन्दोलनको नाममा घुसपेठ बढेको र त्यसले पत्रकार लगायत नागरिकको असुरक्षा बढ्नुका साथै आन्दोलन अनियन्त्रित बन्दै गएकोले आज (विहिाबार) दिउसो २ बजेदेखि दंगाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच नेपाल पत्रकार महासंघ शाखा उदयपुरले पत्रकार दनुवारमाथिको दुब्र्यवहारको घोर भत्सर्ना गरेको छ । त्यसैगरी आदिबासी जनजाति पत्रकार महासंघ उदयपुरले पनि घटनाको कडा भत्सर्ना गर्दै पत्रकार सुरक्षाको माग गरेको छ ।