काठमाडौँ, २४ भदौ ।
‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथिको छलफलमा भाग लिँदै प्रमुख दलका नेताहरुले मस्यौदालाई स्वीकार गर्न आग्रह गरेका छन् ।
छलफलमा भाग लिँदै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले परिमार्जित विधेयक प्रमुख राजनीतिक दलको साझा प्रस्ताव भएकाले यसलाई स्वीकार गर्नुपर्ने बताउनुभयो ।
धर्मको विषयमा गरिएको व्याख्या बाध्यात्मक आवश्यकता भएकाले मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै नेपालको सिङ्गो पहिचानलाई जोगाउन जोड दिनुभयो ।
संविधानसभा बहिस्कार गरेका दलप्रति सङ्केत गर्दै उहाँले संविधान बनाउन आएका दलले संविधानसभा छाडेर नगई जनता र मुलुकका लागि जारी हुने संविधान बनाउने प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो ।
महिलालाई अधिकार दिने विषयमा नेपालको संविधान दक्षिण एसियाकै उत्कृष्ट भएकाले बाँकी रहेका अन्य विषय मिलाएर जान सकिने हुँदा आत्तिन आवश्यक नभएको उहाँले जिकिर गर्नुभयो ।
पौडेलले मस्यौदामा समावेशी तथा समानुपातिक सिद्धान्तलाई विशेषरुपमा स्वीकार गरिएको, सङ्घीय प्रदेशको सीमा निर्धारणका सन्दर्भमा नमिलेका विषय सङ्घीय आयोगमार्फत टुङ्गो लगाउने भएकाले सबैको माग सम्बोधन हुने विचार व्यक्त गर्नुभयो ।
यस्तै,नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले संविधान लेखन प्रक्रियामा लामो छलफल र अभ्यास गरिएको उल्लेख गर्दै जनताको भावनालाई आत्मसात् गरेर अब संविधान जारी गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।
कुनै पनि बहानामा संविधान निर्माण प्रक्रियालाई रोक्न नहुने र जारी गर्न ढिलाइ गर्न नहुनेमा जोड दिँदै समानुपतिक, समावेशी प्रणालीलाई संस्थागत गरिएकोले सबै वर्ग तथा क्षेत्रलाई अधिकार सम्पन्न बनाइएको संविधान निर्माण भएकोमा गौरव गर्नुपर्ने धारणा रावलले राख्नुभयो ।
जनताले दिएको जनादेशलाई सम्मान गर्दै वार्तामार्फत समस्याको समाधान गर्न असन्तुष्ट पक्षलाई आग्रह गर्दै रावलले हाल तयार भएको विधेयक साझा दस्तावेज भएकाले स्वीकार गर्न आग्रह गर्नुभयो ।
एमालेका सुरेन्द्रप्रसाद पाण्डेले विधेयक र प्रमुख दलको संशोधनलाई समर्थन गर्दै प्रक्रिया नरोकिकन यसलाई अविलम्ब निष्कर्षमा पु¥याउन आग्रह गर्नुयो । मस्यौदाले गणतन्त्रलाई संस्थागत गर्नेलगायतका व्यवस्था गरेकाले यसलाई अन्तिम नठानी पछि पनि गतिशील बनाउन सकिने पाण्डेले जनाउनुभयो ।
एमालेका भानुभक्त ढकालले हुनसक्नेसम्मको सहमतिलाई स्वीकार गरी थप अधिकारका लागि लड्नु सान्दर्भिक हुने बताउँदै आफूले भनेको कुरा नभएमा सभा छाड्दै हिँड्दा समाजमा सकारात्मक सन्देश नजाने बताउनुभयो ।
एकीकृत नेकपा (माओवादी) का सभासद् गोमा कुँवरले राज्यका विभिन्न निकायमा महिला सहभागिताको विषय छाडिएकाले त्यसलाई उल्ल्ेख गर्नुपर्ने बताउनुभयो ।
एकीकृत नेकपा (माओवादी) का सभासद् ल्ह्यारकाल लामाले धर्म्निरपेक्षतालाई व्याख्या गरिरहन नपर्ने बताउनुभयो ।