मोरङ, २३ भदौ ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले तराईमा जारी आन्दोलनको विकल्प खोज्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले मानिसका आधारभूत आवश्यकतालाई ध्यानमा राखी आन्दोलनको विकल्प खोज्नुपर्ने बताउनुभयो ।
विराटनगरमा बुधवार राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगर र पूर्वाञ्चल मानवअधिकार सञ्जालको संयुक्त आयोजनामा भएको अन्तरसम्वाद कार्यक्रममा बोल्दै उहाले विकल्प नखोजीए यसले जटिल रुप लिने धारणा राख्नुभयो ।
प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले लामो समयको बन्दले विद्यार्थीको पढाइ ठप्प भएकाले समाधान निकाल्न आन्दोलनकारीलाई आग्रह गर्नुभयो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सञ्जय सिंहले आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिँदै आफूहरूले उठाएका मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।