जलवायु परिवर्तनबाट बढी दुःख कसले पाउछ ?

जलवायु परिवर्तनबाट बढी दुःख कसले पाउछ ?

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

केही वर्ष अघि मेलिन्डा र म कृषकहरूको एक समूहका साथ भारतको बिहारमा धानखेतीको बारेमा छोटो अध्ययन गर्न बिहार पुगेका थियौँ । भारतीय यस राज्य मुलुकभरकै बाढीले बढी सताउने क्षेत्र मानिदो रहेछ ।

त्यहाँका प्रायः कृषकहरू अत्यन्तै गरिब र परिवार पालनपोषण गर्न आफूले फलाउने धानमै प्रत्येक वर्ष भर पर्नुपर्ने रहेछ । मनसुनी वर्षासँगै त्यहाँ सबै नदीमा बाढी आउने र त्यस बाढीले धानखेत बगाउनाले बालीनाली सबै नष्ट हुने गरेको पाइयो । तर कृषकहरू आफ्नो खेतबारीमा बाढी पस्दैन की भन्ने आशले हरेक वर्ष धान रोप्ने होडबाजी नै गर्दा रहेछन् । यसरी उनीहरू प्रायजसो हारिने जुवा खेल्न बाध्य हुँदा रहेछन् ।

बाढीले सताएपछि, बालीनाली नष्ट पारेपछि आफूलाई अनुकुल हुने कामको खोजीमा भौतारिँदै देशका अन्यत्रका ठूला सहरहरूमा पलायन हुनुपर्ने उनीहरूको बाध्यता रहेछ । अर्को वर्ष उनीहरू आफ्नै थातथलोमा फर्किने गर्दा रहेछन् । तर पहिला छोडेको भन्दा पनि अझै गरिबी बोकेर, धान रोप्ने खर्चसम्म जेनतेन जुराएर । संसारका कृषकहरूमध्ये अत्यन्त गरिब कृषकहरूको समूह यस्तो झुलभित्र बस्न बाध्य छ, जसभित्र लामखुट्टे सजिलै पसी रातभरी टोक्छ तर उनीहरू त्यही झुलभित्र सुत्न बाध्य छन् । हाम्रो भ्रमणले स्मरण गराएको गतिलो पाठ थियो त्यो ।

ती कृषकहरूसँग उन्नत बीउबीजन, उर्वर मल, उचित सिँचाइ प्रणाली र अन्य कृषकमैत्री प्रविधि तथा उपकरणहरूमा सजिलो पहुँच भएको हामीले पाएनौ । जब कि संसारका अन्य विकसित मुलुकका कृषकले यी न्यूनतम सुविधा प्राप्त गरेकै हुन्छन् । यसका अतिरिक्त, त्यहाँ बाली बिमाको व्यवस्था नहुनाले जे जति नोक्सान परे पनि चुपचाप सहनु पर्ने समेत बाध्यता रहेछ । बिडम्बना यो छ की अनिकाल, बाढी, रोग वा खडेरी वा यस्तै साधारण प्राकृतिक प्रकोपको एउटा सानो दुर्भाग्यले आक्रमण गर्दा पनि ती कृषकहरूलाई थप गरिबी र भोकमरीेको खाडलतिर घचेट्न पर्याप्त हँुदो रहेछ ।
‘उपरी माथि थुपरी’ भजेजस्तै हाल आएर विश्वब्यापी जलवायु परिवर्तनको रोगले समेत उनीहरूको जीवनमा एक नयाँ जोखिमको बाक्लो पत्र थपिएको हामीले पायौँ । केही वर्षदेखि यता दिनहूँ जसो धरतीको तापमानमा लगातार वृद्धि भइरहनाले भारतजस्ता उष्ण प्रदेशीय क्षेत्रले आगामी केही दशकमै कृषि र बालीनाली उत्पादनमा ठूलो ह्रास ब्यहोर्ने लगभग निश्चित छ । न्युनवृष्टि वा अतिवृष्टि दुबैमा बालीनाली राम्ररी उम्रन वा फस्टाउन सक्दैन । उच्च तापमान वृद्धिसँगै कीराफट्याङ्ग्राको पनि कडा प्रकोप सुरु भई तिनले बालीनालीलाई थप नष्ट पारिदिन्छन् । यसप्रकारको समस्या धनी राष्ट्रमा पनि नहुने होइन । जलवायु परिवर्तनले विश्वका सबै कृषकहरूलाई पनि अवश्य समान प्रभाव पार्छ तर उनीहरूसँग जोखिमको सामना र व्यवस्थापन गर्ने आवश्यक उपकरण तथा बाह्य भरथेग पनि उपलब्ध हुन्छ ।

संसारका गरिब कृषकहरूलाई हरेक बिहान रित्तो हात आ–आफ्ना खेतबारीमा पस्नु पर्दछ । तिनै कृषकहरू जलवायु परिवर्तनको शिकार बन्दछन् र अत्यन्त कष्टकर जीवनयापन गर्न बाध्य हुन्छन् । गरीब कृषक परिवारलाई नै जलवायु परिवर्तनरुपी आरिङगालले नराम्ररी अझै चिल्ने प्रायः निश्चित नै छ । तसर्थ अहिले नै त्यस्ता कृषकलाई सहृदय सहयोग गर्न र बढ्दो जनसंख्यालाई पर्याप्त हुने खाद्यान्न जुटाउनतर्फ संसारका बुद्धिजीवीको ध्यान जानुपर्दछ ।

सन् २०५० को अन्त्यसम्म विश्वलाई चाहिने खाद्यान्नको माग हालको भन्दा ६० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । बाली उत्पादनमा ह्रास आउनु भनेकै विश्वब्यापी खाद्य आपूर्ति प्रणालीमा असन्तुलन आउनु हो । यसबाट भोकमरीको परिमाणमा अप्रत्याशित वृद्धि हुन गई गरिबी उपर विश्वले विगतका आधा शताब्दी यता हासील गरेको अत्याधिक विजयलाई क्षणभरमै तहसनहस पारी दिने पक्षलाई नकार्न मिल्दैन । म आशावादी छु, हामीले अहिलेदेखि नै केही ठोस कार्य गरेमा, केही योगदान दिएमा जलवायु परिवर्तनको दुष्प्रभावबाट पृथ्वीलाई जोगाउन सकिन्छ र धरतीमा खाद्यान्न सङ्कट आउने छैन ।

यसका लागि प्रथमतः सबै देशका शासक वा सरकारहरूले नवीन स्वच्छ ऊर्जा उत्पादन र परीक्षण वा प्रयोगमा लगानी बढाउन शीघ्र कदम चाल्नु आवश्यक छ । यसले नवीन ऊर्जाले हरितगृह ग्यास उत्सर्जनलाई न्यूनीकरण गर्नेछ र साथसाथै विश्व तापमान वृद्धिलाई पनि नियन्त्रण गर्नेछ । यहाँनेर विचारणीय पक्ष के छ भने विश्व तापमानको निरन्तर वृद्धिबाट विश्वलाई पर्ने दुष्प्रभाव रोक्न हामीले बिलम्ब गरी सक्योैँ भन्ने तथ्य नै ध्रुवसत्य हो र यसलाइ सबैले स्वीकार वा राम्ररी मनन गर्नुपर्छ । मानिलिउँ, अर्को हप्ता विश्वमा स्वच्छ र सुलभ ऊर्जाको स्रोत पत्ता लाग्यो रे तर धेरै बर्ष अघिदेखि पेट्रोलियम वा अन्य इन्धन प्रयोग गरी अथाह सुख सुविधा उपभोगगर्दै आएको संस्कारले गहिरो जरा गाडिसकेको समाजरुपी दानवलाई त्यस स्वच्छ ऊर्जाले विस्थापन गर्न अति लामो समय लाग्ने पक्का छ ।

यसैकारण पनि गरिब कृषकवर्गलाई चाहेर पनि सहृदयी सहयोग गर्न सजिलो छैन । गरिब कृषक वर्गका उत्थानका लागि चाहिने धेरैजसो उपकरण वा साधन विलकुल आधारभूत छन् । उदाहरणार्थ बढी खाद्यान्न उत्पादन आय स्रोतमा वृद्धिका लागि कृषिक्षेत्र सम्बन्धित आर्थिक लगानीमा वृद्धि उन्नत बीउबीजनको सर्बसुलभता, गुणस्तरिय मलखादको सर्बसुलभता, कृषिजन्य तालिमको व्यवस्था र आफ्नो उत्पादन उचित मूल्यमा सजिलैसँग बेचबिखन गर्न पाइने बजार व्यवस्थापन इत्यादिले नै प्रमुख स्थान ओगटेका छन् । यस अतिरिक्त तत्कालै पूर्ति नगरी नहुने आवश्यकता भनेको परिवर्तनशील जलवायुको दुष्प्रभावबाट जोगाउने प्रविधिसँग साक्षात्कार हुनु वा आत्मसात् गर्नु हो ।

यसै क्रममा, गेट्स फाउन्डेसन नामक एक अमेरिकी संस्था र यसका साझेदारहरूले कृषकहरूका हितका लागि थुप्रै सहकार्य गर्दै आएका छन् । यस संस्थाले अनावृष्टी वा अतिवृष्टी (बाढीको प्रभाव) मा समेत राम्ररी उत्पादन दिने प्रकृतिका नवीन नश्लका, विभिन्न थरिका धान बालीका बीउबीजनको विकास गरेको छ । बिहारमा जति कृषकहरूलाई मैले भेटेको थिएँ, तीमध्ये अधिकांश कृषकहरूले हाल बाढीको प्रकोप सहनसक्ने क्षमतायुक्त धान बाली लगाउने गर्छन् । ‘स्क्युबा’ उपनाम दिइएको यस धानको बोटलाई बाढीले सितिमिती बगाउन सक्दैन र यो धानको बोट दुईहप्ता सम्म पानी मुन्तिर रहनु परे पनि कुहिदँैन र मर्दैन पनि ।

यस्तो धानको बीउबाट प्रशन्न र आशावादी रहेका बिहारका कृषकहरू मूलबाली लगाउने मौसम (असार÷साउनदेखि कात्तिक÷मङ्सिरसम्म) बाहेक अन्य प्रतिकूल मौसममा पनि सो धानको खेती गर्न सकिन्छ भन्नेमा प्रयास गर्न लालायित छन् । हाम्रो संस्थाले अनावृष्टि, अतिवृष्टि, अतिठण्डी, रुखो माटो रहेको (तुलनात्मक रुपले अम्लिय वा अति लबण मिश्रित) अवस्थालाई पनि सजिलै पचाएर पूरा बाली उत्पादन दिने खालका विभिन्न किसिमका धानको बीउ, बीजनको विकास गर्न सफलता पाएकोमा मलाई किन्चित गौरवको अनुभूति भै रहेको छ ।

स्रोत: रासस 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी