काठमाडौँ, २३ भदौ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले दलको स्वार्थभन्दा बाहिर रहेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयले आज आयोजना गरेको पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सूदुरपश्चिमाञ्चल विकास क्षेत्रको आर्थिक वर्ष २०७१÷७२ को वार्षिक समीक्षा गोष्ठीमा उपप्रधानमन्त्री सिंहले कानुनको दायरामा बसेर नियम र विधिसम्मत रुपमा काम गर्न मन्त्रालयअन्तर्गतका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
उहाँले स्थानीय विकास मन्त्रालय जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएको भन्दै जनताको चाहनाअनुसारको सेवा दिनु आवश्यक रहेको औँल्याउनुभयो ।
मन्त्री सिंहले सबै राजनीतिक दलको चुनावी घोषणापत्रमा स्थानीय निकायको निर्वाचन गर्ने उल्लेख भएकाले संविधान निर्माणलगत्तै स्थानीय निकायको निर्वाचन हुने उल्लेख गर्नु भयो ।