जनकपुरधाम, २३ भदौ । नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादवले अहिले जारी अधिकारको आन्दोलनमा आफूहरुको समर्थन र सहयोग रहे पनि पार्टी कार्यालयमा आगजनी गर्नु दुःखद् रहेको बताएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको लाँठी जुलुसले सोमबार नेपाली काँग्रेस धनुषाको पार्टी कार्यालयमा आगजनी गरेपछि आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै धनुषा सभापति यादवले नेपाल सरकारको स्थानीय प्रशासनले देखाएको सुरक्षा लापरबाहीका कारण यस्तो घटना भएको भन्दै सम्पूर्ण जनताको जीउधनको सुरक्षाको मागसमेत गर्नुभयो ।
आगामी संविधानमा मधेसका जायज माग गम्भीरतापूर्वक लिई अविलम्ब सम्बोधन गरी देशमा संविधानका साथै शान्ति कायम गर्नुपर्ने उहाँको भनाइ थियो ।
आगलगीमा कम्प्युटर, दराज, कुर्सी, फोटोकपी मेसिन गरी करिब रु ४० लाखको क्षति भएको नेपाली काँग्रेस धनुषाले जनाएको छ ।