थारु समुदाय तराईका धर्तीपुत्र हुन भनि इतिहासले सावित गरेको छ । २५० वर्ष पहिलादेखि नै थारु समुदाय राज्यको हरेक तह तप्का निकायमा पछाडी पर्दै आएका छन् । राज्यले थारु समुदायलाई सौतेलो व्यवहार गरे । तर थारु जहिले पनि आफ्नो पहिचानमा अडिग रहि आर्थिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य र समाजिक रुपमा रमाउदै आए ।
थारु समुदायको कला, संस्कृति, रहनसहन, चालचलनमा अहिले पनि कुनै किसिमको फरकपन आएको देखिंदैन । भाषाको अधारमा हेर्ने हो भने थारु समुदाय नेपालकै चौथो स्थानमा रहेको छ । कुल जनसंख्याको ६.९ प्रतिशत थारु समुदायको जनसंख्या रहेको देखिन्छ । थारु समुदाय सोझोको रुपमा चिनिने जात भएकोले विगतदेखि नै आफूलाई ठूला ठान्नेहरु राज गर्दै आएको इतिहास छ ।
दशकौदेखि थारु समुदाय यो देशको दास भएर बसे, बुवाले लिएको ५ सय रुपैया ऋणको सावा व्याजतिर्न नसकी तिनीहरुको छोरा, बुहारी, नाती, पनातीहरु जिन्दगीभरी मालिकको निशुल्क नोकर बनेर कमैया कमलहरी बस्न बाध्य भए । आफूलाई ठूला ठान्नेहरुले आफ्नो बस्तीबाट बसाई सराई गर्दै हुने खाने थारुहरुसंग मित लगाए, नाता गाँसे र अन्ततः ति थारुहरुलाई पनि विभिन्न मोह देखाई जालमा पारी कुटनीतिक ढङ्गले आफ्नो भएको देखाए र स्वार्थ सिद्ध गरे ।
विस्तारै थारु समुदाय पनि चेतनशील बन्दै गए, तिनीहरु आर्थिक, राजनीतिक शैक्षिकरुपमा सचेत भए । गलतलाई गलत र सहीलाई सही भएको छुट्याउन सके । आफ्नो अधिकारको लागि २००७ सालदेखि २०४६ सालसम्म नेताहरुको झोला बोकेर राजनीति गर्न सिके । २०५२ सालदेखि २०६२ सालसम्म सशस्त्र जनयूद्ध लडेर राजनीतिक चेतनाको राम्रो विकास गरे ।
थारुहरुको ईतिहास खोलामा माछा मारेर मात्र बनेको होईन, तिनीहरुको ईतिहास गीत–बास गाएर मात्र बनेको होईन, तिनीहरुको ईतिहास मालिकको घरमा पुरै जिन्दगी निशुल्करुपमा दास बनेर मात्रै पनि बनेको होईन, तिनीहरुको ईतिहास सोझा जात हुन् भन्दै घरमा उत्पादन भएका जति पनि अन्न भण्डार खेत जमिन थोर थोरै गरी विभिन्न लोभ लालचमा निशुल्क वितरण गरेर मात्र पनि बनेको होईन । बरु यी सबै समस्याका बाबजुद पनि, राज्यको अन्याय र अत्याचारका बाबजुद पनि आफू र आफ्ना सबैथोक बचाउनको लागि गरिएको ठूलो योगदानबाट बनेको ईतिहास छ । हिजोका जल, जंगल र जमिनको मालिक आज सडकमा भौतारिदै छन् ।
उनीहरु २१ औं शताब्दीमा आएर अफ्नो पहिचानको अधिकारको खोजी गर्दै राज्यसंग लड्दै छन् । तर राज्य अहिले पनि थारु समुदायलाई अढाई सय वर्ष पुरानो थारु सम्झर्दै बच्चाको खेल झै नौटंकी गरीरहेको छ । तर थारुहरु यतिबेला सब एक ढिक्का भएका छन् । जुनसुकै पार्टीप्रति आस्था राखे पनि उनीहरुको आवाजएउटै छ । पछाडी परेका वर्ग, थारु, महिला, दलित, मुस्लिम राउटे जो सुकै होस्, राज्यले तिनीहरुको अधिकार सुनिश्चित गरोस्, तिनीहरुको पहिचान नमटेवास् भन्ने माग छ ।
१० वर्षे जनयुद्धपछि देश लामो समयसम्म संक्रमण कालबाट गुज्रनु पर्यो । १४ हजार भन्दा बढी जनताको बलिदानी भयो । १२ बुँदे समझदारीपछि १९ दिने जन आन्दोलन भयो ।देशमा संविधान सभाको चुनाव भयो । राजनीतिक दलका शीर्षनेताहरुले जनताहरुसँग सम्बादै नगरी संघियताको खाका ल्याए । देशमा आगो बल्यो । कैलालीमा थरुहट थारुवानको माग गर्दै पक्ष र विपक्षमा ३२ दिने आन्दोलन चर्कियो । नेताहरुको सामन्तवादी सोंचका कारण पहिलो संबिधान सभाको देहावसान हुन पुग्यो । देश पुनः संबिधान सभाको चुनावमा गयो । अहिले ४ दलका ४ नेताबिच १६ बुँदे सहमति भएको छ ।
नेपाली जनताले सबैलाई सम्बोधन हुने खालको संविधानको पर्खाईमा थिए । १६ बुँदे सहमति अनुरुप पनि ८ प्रदेशमा जाने सहमति भएको थियो । तर नेताहरु ६ प्रदेशमा सहमति जनाए र सीमांकन गरे । चारैतिरको व्यापक विरोध आएपछि सजातिय भएका नाताले नेताहरुले ७ प्रदेश निर्माण गरी सुर्खेत र जुम्लाको मागलाई पुरा गरे । तर थारुहरुको माग पुरा भएन । कैलालीमा अखण्ड सुदुरपश्चिम माग गर्नेहरुको माग सम्बोधन भए पनि तिनीहरुले अदृष्यरुपमा थारुहरुलाई हेप्दै विजय जुलुसको नारा सहित भदौ ४ गते टीकापुर जाने योजना बनाए । अखण्ड सुदुरपश्चिम पक्षधरको आँखामा देखिएको खुशी र ओठमा झुण्डीएको अदृष्य हेपाहा प्रवृतिले थरुहट पक्षधरलाई जलन भईहरेको थियो । थरुहट पक्षधरले ३२ गते धनगढीमा ठूलो आम सभा गर्ने निर्णय ग¥यो ।
अखण्ड पक्षधरले आमसभा विथोल्नको लागि फिर्ता लिएको आन्दोलन पुनः एक दिनको लागि आम हडतालको घोषणा ग¥यो । राती ११ वजे सर्वदलिय बैठक बसी कसैले कसैको कार्यक्रमलाई नविथोल्ने, सद्भाव कायम गर्ने,सहमति भयो । तर ३२ गते बिहानै सो सहमतिलाई तोड्दै अखण्ड पक्षधरले बजार बन्द गरे । आमसभामा सहभागि हुने १ सय ४० टेक्टरका थारुलाई अखण्ड पक्षधरले बाटोमा रोके ।
गाउँबाट आउने थारुहरुमाथि ढुंगा प्रहार गरे । आमसभा सम्पन्न भयो, तर अखण्ड पक्षधरहरुको अभद्र व्यवहारले पूर्बी क्षेत्रबाट आएका थारुहरु रिसाएका थिए । भदौ ४ गते थारुहरुको बन्द यथावत थियो, तर अखण्ड पक्षधरले मोटरसाइकल ¥याली गर्ने निर्णय गरे र टीकापुरका लागि हिंडे । दुर्गौली गा.वि.स.को तोरैयापुरमा थरुहट पक्षधरका जनताले ढुङ्गा हानेर रिस पोखे । फलस्वरुप भदौ ५ गते हुने भनिएको अखण्ड पक्षधरको आम सभा स्थगित हुन पुग्यो ।
थरुहट पक्षधरको आन्दोलन जारी थियो उनीहरुले राज्यसंगको माग हो भन्दै संयम्तापूर्वक आन्दोलन गरीरहे ।त्यसै सन्दर्भमा सुरक्षाकर्मीहरु पनि खुलेरै अखण्ड पक्षधरलाई सपोर्ट गरे । जिल्ला प्रशासन कार्यलयमा रिपोटिङ्गंका लागि गएको यो पंक्तिकारलाई पनि एक सुरक्षाकर्मीले बोलाएर भन्यो,‘थारुहरुले थरुहट पाए भने के गर्लान् र मीस ? थरुहट भए नवलपरासी राजधानी हुने हो ? विचरा थारु धनगढी आउनलाई त अरुसंग पैसा सापती लिएर आउँछन्, चितवन जानुपरे झन् जग्गा नै बेच्नु पर्ला होईन र ?’ भन्दै हाँसे ।
त्यसैगरी सुरक्षाकर्मीलाई सुचना प्रवाह गर्ने सुरक्षाकर्मी, सुचना दाताहरुले अखण्ड पक्षधरको पक्षपोषण गर्दै सुचना प्रबाह गर्ने, तिनीहरु भित्रकै कोई थरुहट पक्ष र अखण्ड पक्षधर विचको लडाई नभएर राज्यसंगको लडाई हो भनि सम्झाउन खोज्दा अपाच्य शब्द प्रयोग गरिएको देखियो । थारुहरुलाई दमन गर्न आदेश दिने र आदेश पालना गर्नमा ढिलाई भए सुरक्षाकर्मी, सुरक्षाकर्मीविच मनमुटाव भएको प्रत्यक्षरुपमा देखियो । यस्ता तमाम दृश्य र अवस्थाले थारुहरुलाई झन झन आक्रोशित बनाउदै गयो ।
नहुनुपर्ने घटना भदौ ७ गते घट्न पुगेकोमा म निकै दुःखित छु । तर त्यो घटनाको बारेमा स्थानियदेखि केन्द्रसम्मका कतिपय संचार र बुद्धिजीवीहरुले जसरी व्याख्या गरिरहेका छन्, त्यो गलत भैरहको छ । बलेको आगोमा घिउ थप्ने काम भैरहेको छ । जुन कुरा राम्रो होईन । यो अपराधिक समूहबाट भएको घटना पनि होइन । यो आन्दोलनको क्रममा भएको घटना हो । उत्पीडित थारु समुदायको आक्रोशित भीडद्वारा भएको घटना हो । आन्दोलनको भीड अगाडि बढ्दै गर्दा त्यो घटना हुन गएको देखिन्छ ।
बिल्कुल यो राजनीतिक सवाल हो । सबैले भन्दै आएको इमानदार र सोझा थारुहरु आक्रोशित हुनुपर्ने कारण के हो त ? यो समस्याको दीर्घकालीन समाधान के होला ?समस्या समाधानको जरा खोज्ने तिर लाग्नु पर्ने बेला हो यो । न कि थारुहरुलाई अपराधिक कर्मतिर धकेल्ने प्रयत्न । म त भन्छु टीकापुर घट्ना सर्वसत्तावादी चिन्तन भएका नेताहरुले, अखण्डवादी नेताहरुले थारुहरुलाई रौं बराबर पनि भूमि दिन्न भन्ने खालको जमिनदारी शैलीबाट दिएको अभिव्यक्तिको उपज हो, त्यसैको परिणाम हो ।
यो घटनालाई निरपेक्षरुपमा व्याख्या गरेर हेर्न मिल्दैन । सुरक्षाकर्मीले थारु आन्दोलनकर्मीमाथि आक्रमण गरे । त्यसले पनि थारुहरुलाई आन्दोलित बनायो । शीर्ष नेताहरुका आँखामा २५ सय बर्ष अगाडिका थारु र अहिलेका थारुहरु एउटै देखिए । उनका आँखामा थारुहरु कमैैया, कम्लहरी भएर बस्दासम्म सोझा र इमान्दार तर अधिकारका लागि सडकमा उत्रिंदा आतंककारी र अपराधी देखिए । थारुहरु अधिकार खोस्न आन्दोलित भए भन्ने जुन चिन्तन पर्वते समुदायमा पछिल्लो समयमा देखियो, त्यो नै गलत हो ।
टीकापुरको घटनालाई लिएर कैलाली जिल्लामा कफर््यू लगाउनु, कफर््यूको समयमा थारुहरुको घर, पसल तोडफोड हुनु, थारुहरुको घरमा आगजनी हुनु, मिडियामाथि आगजनी हुनु, सुरक्षाकर्मीबाटै विभिन्न खाले दुव्र्यवहार हुनु न्योचित हो कि होइन ? सामाजिक सञ्जालदेखि लिएर मिडियासम्म आवश्यकता भन्दा बढी जुन ढङ्गले भ्रम फैलाउने काम भयो, त्यो भन्दा त सत्य तथ्य पत्ता लगाई प्रकाशन र प्रसारण गर्नु बुद्धिमानी हुन्थ्यो होला । तर त्यसो देखिएन । ठूलाबडा सामन्तहरु मिडियाको आडमा राम्रा मात्रै होइन, नराम्रा पनि काम गर्ने गर्दछन् । यही रणनीति यतिबेला हाम्रा नेताहरुले पनि अख्तियार गरेका छन् ।
संचारको प्रयोग गरी ठूला नेताहरुले थारु माथि राजनीति गर्दै जाने, तल्लो स्तरका नेता तथा कार्यकर्ताविच तकराब बढ्दै जाने अवस्था देखिंदैछ । यसले भोलीका दिनमा बिकराल रुप लियो भने कैलाली जिल्ला रक्तपातबाट जोगिनुको सत्ता सखाप भयो भने के गर्ने ? त्यो अवस्थाबाट के हामी जोगिन सक्छौं ? त्यसैले यतिबेला आन्दोलनकारी मित्रहरुले संयमता अपनाउन त जरुरी छ नै । हामी संचारकर्मीहरु पनि बडो सुझबुझका साथ कलम चलाउन, प्रसारण गर्न जरुरी छ । बास्तविकतालाई ढाकछोप गर्नु भन्दा असली रुपलाई प्रस्तुत गर्न आवश्यक छ ।