काठमाडौं १७ भदौ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको कर्फयुको समय घटाएसंगै लगातारको निषेधाज्ञाबाट प्रभावित जनजीवन केही सामान्य बन्न थालेको छ ।
निषेधाज्ञाको समय घटाएसँगै धनगढी र टीकापुरमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ । स्थानीय प्रशासनले धनगढीमा दैनिक चार घन्टा र टीकापुरमा बिहानको समयमा निषेधाज्ञा फुकुवा गरेपछि जनजीवन सामान्य बन्न थालेको हो ।
निषेधाज्ञाको समय छोट्याउँदै स्थानीय प्रशासनले धनगढीमा बिहीबार मध्याह्न १२ बजेबाट अपराह्न ४ सम्म निषेधाज्ञा जारी गरेको छ । यसैगरी टीकापुर नगर क्षेत्रमा लगाइएको २४ घन्टे निषेधाज्ञाको समय बिहानको समयमा फुकुवा गरिएको छ ।
टीकापुरमा बिहान ७ देखि १० बजेसम्म निषेधाज्ञा फुकुवा गरिएको स्थानीय प्रशासनले जनाएको छ । कैलालीको भजनी त्रिशक्ति नगरपालिका सहित दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुर गाविसमा लगाइएको कर्फ्यु भने कायमै रहेको छ ।
स्थानीय प्रशासनले कर्फ्यु खुकुलो पारिदिँदा सर्वसाधारणको दैनिकी केही सहज बनेको छ । दंगाग्रस्त क्षेत्र घोषणा गरिएका सबै गाविसमा सेनाको उपस्थिति कायमै रहेको छ ।