फेरिएको गाउँ

फेरिएको गाउँ

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

 

केही समय अगाडी गाउँको बारेमा लेख्दा मैले लेखेको थिएँ गाउँ सोखको सगरमाथा हो । गांैरवको गण्डकी हो । कामनाको कञ्चनजङ्गगा हो र ममताको माछापुच्छे« पनि । मोतिफल्ने कुरा ज्योती बल्ने कुरा गरेको थिएँ । त्यसमा शहरबाट प्रताडित गाउँको पुरा नक्सा खिचेको थिए । पक्षपातिको हिसाबले म शतप्रतिशत गाउँवादी हुँ । गाउँमै जन्मिए, गाउँमै हुर्किए, गाउँसंगको नाता मेरो वंशानुगत नाता झै हो । भावनाको नाता त हुने नै भयो ।
मैले कतै पढेको थिए एकजना शहरमा बस्ने सम्पन्न पिताले गाउलेहरु कति कष्टकर जीवन बाँच्छन भन्ने बुझाउन छोरालाई गाउँ लग्छ । केहिदिन गाउँलेहरुको झुपडिमा खाएर विताएर शहर फर्किदा पिता सगर्व गाउँको बसाईबारे आफनो छोराको प्रतिक्रिया जान्न खोज्छ । त्यो निर्दोष बालकले गाउको बारेमा गज्जप कुरा बताउछ । हामीसंग एउटा कुकुर छ बाबा तर उनिहरुसंग तिन, चार वटा छन, उनिहरुको पानीको दह हाम्रो स्वीमिङ्ग पुल भन्दा दशौं गुणा ठुलो छ । हामी सबैकुरा किनेर खान्छौं तर उनिहरु आफ्नै बारीमा फलाउदा रहेछन । यसरी भन्दै अन्तमा छोराले थप्यो बाबा यो भ्रमणबाट हामी कति गरिव रहेछौं भन्ने कुरा छर्लङ्गै भयो । पहिलो पटक यो पढ्दा म कति रोमान्चित भएको थिएँ भने दशौंपटक पढ्दा पनि थाकिन । लागेको थियो होतनी गाउँ भनेको गाउ नै त हो नी । के छैन यहाँ ? आज यसो गम खान्छु के साँच्चै गाउँ सँग सबथोक छ त ? मनको यो प्रश्न माथी माथी आकाशको कुहिरो सँग सयर गर्न थाल्छ म भने हेरेको हे¥यै हुन्छु ।
गाउँ कसको हो ? कसका लागि हो ?किन छोड्छन मान्छेहरु गाउँ ? के गाउँ नछोडी हुँदैन ? के गाउँमै हाम्रो जिवनका सपना र विपना देख्न भोग्न सकिदैन ? अनुत्तरित जस्ता लाग्ने प्रश्नको उत्तर हुन सक्छ हो, यो गाउँमा सबै नहुँदा रहेछन् ।
जसो तसो गर्दा पनि हातमुख जोर्न धौ धौ हुन्छ । एकसरो कपडा फेर्न गाह्रो हुन्छ । के हुन्छ र खेतीपाती बाट । त्यही दुई छाक त हो नी । यै तर्कलाई पनि बेलाबेला मौसमले घात गरिदिन्छ र फेरी रामभरोसा भईदिन्छ सहर । अली राम्रै गरी रोजीरोटीको जोहो गर्न, कहालीलाग्दो भविष्यको सामना गर्न, सानो तिनो काम खोज्न, व्यापारको लागि, अध्ययनको लागि, सिपसिक्नको लागि, क्षमताको उपयोग गर्न, थुप्रै कारण हुनसक्छन् गाउँ छोड्ने र शहर पस्ने । गाउँलाई गुजारा ठान्नेहरु पनि विस्तारै यो जमानामा गाउँमा सहज जीवन जीउन सकिदैन भन्ने निष्कर्षमा पुगेका छन । हामी नेपालीका लागी, जो यो देशको असी प्रतिशत भू भाग गाउँ ले ओगटेर बसेका छौँ, यो भन्दा विडम्बना र कहालीलाग्दो अवस्था अरु के हुन सक्ला ?
दुई दिन भो यो शहरमा कोठा लिई बसेको । धेरै पहिले बसेको थिएँ । पढ्दा ताका । आजभोली खासै सहरमा काम छैन मेरो । केही समय अगाडी रिस उठ्यो आफै देखि अनि बाचा गरेँ बस्दिन यो शहरमा । केही किताब र लत्ता कपडा आफन्तको घरमा छोडेर गएको थिएँ गाउँमा तर छ महिना पनि टिकिन् र अहिले यो शहरमा डेराको बन्दोबस्त गर्न बाध्य भएँ । घरको म मात्रै छैन यो शहरमा । मेरो भाई, दाई गरी परिवारका पाँच जना यतै रहेछौँ । यसो सोची गनँे गाउँबाट शहरमा कती झरे त, को रहेन्छ र ? शहरमा । नेपालका अधिकांश सहरमा आफ्नै गाउँका तन्नेरी पुगेको र त्यतै संघर्ष गरिरहेको थाहा पाउँदा केही खुशी र केही बेचैनको महशुस हुन्छ । अझै देशबाहिर संसारका विकसित देखि अल्पविकसित राष्ट्रमा भाडाका मान्छेको रुपमा गएका मेरा प्रिय गाउँले दाजुभाई दिदिबहिनी हरुको पिडा, हैरानी, दुख र विपत कति भईरहको छ ? सम्झदा मात्र अत्यास लाग्छ ।
शहरमा चिया भन्दा पत्रिका पहिला बिक्छ । विहान विहानै पत्रिकाको मुठो लिएर पढ्न बस्छु । शुरुमा अरु हरु झैँ मेरा पनि हेडलाईन तिरै आँखा दौडिन्छन् । बडे बडे नेताका बडे बडे भनाई । आयो संविधान भयो सहमति । फलानो देशका नेताको फलानो देशका नेता सँग भेटवार्ता । फलानो देशले ग¥यो आणविक परिक्षण । ठूल ठूला देशका ठूल ठूला मान्छेका युद्धका, हत्याका, आतंकका, मृत्युका खबरहरु आदि इत्यादि । अनि त्यसपछी दोस्रो प्राथामिकताको सूचीमा रहेका समाचारहरु पढ्न थाल्छु । जहाँ गाउँघरका खबरहरु छापिन्छन् ।जुन समाचारहरु यो राज्यका जिम्मेवारलाई सायद झिनामसिना लाग्दो हो । गरिबीले गर्दा परिवारैले ग¥यो सामूहिक आत्महत्या, विदेशबाट एकवर्ष पछि छोराको लास आयो, मलेसिया मा नेपालीको दिनदहाडै हत्या, साउदी अरेबियामा नेपाली महिला कामदारलाई मृत्युदण्ड, सयौँ गाउँले चेली देहव्यापारको लागि बिक्री गर्ने गिरोह सक्रिय, दलित भन्दै पानी भर्न नदिएपछी, दाईजो नल्याएको भन्दै जिउँदै आगो लगाएर हत्या, बाढी पहिरो बाट गाउँमा लाखौँको धनजनको क्षति, पानी नपरेपछी खेती लागेन, त्यसैगरी गाउँमा फैलिएको महामारी, भोकमरी, गाउँ लोग्नेमानिस विहिनबन्दै……..। यी र यस्तै लाग्ने गाउँका खबरहरुले पत्रिकाको अप्रथामिक भाग भरिएको हुन्छ । निश्चय नै खबरहरु गाउँका हुन्छन्, । कथाव्यथा गाउँलेको हुन्छ, तर विहान विहानै शहरका चोक चोक र गल्लीगल्लीमा चियाको चुस्की सँगै घोलीन्छन् विना चासो विना चिन्ता र विना संवेदना ।

आज गाउँ निक्कै फेरिएको छ । बदिलीएको छ । भिन्न हुन खोजीरहेको छ । हिजोको सोचाई, शैली , व्यवहार र कामकाजमा परिवर्तन आएको छ । एकसरो लुगा लगाउन धौ धौ हुने परिवार भित्र आज केटाकेटीको हातैपिच्छे ग्यालेक्सी मोबाईल अनिवार्य भएको छ । दैन्दिन शहर बजार बाट भित्रिने सबै चिजवस्तु खाना देखि नाना, सुन देखि नुन सम्मको प्रयोगले व्यापकता पाएको छ र सँग सँगै विकृती पनि भित्रिएको छ । हिजोकंो शिक्षा, स्वास्थ्य, राजनीति, रितिरिवाज, परम्परा, चालचलन, संस्कार र आनीबानीमा विचलन देखा परिरहेको छ । हिजो गाउँमा जो कसैका घर घरमा थुप्रै भाले कुखुरा हुन्थे भने आज बजारबाट लगिएको ब्वाईलर कुखुराको मासु अत्यधिक लोकप्रिय र खपत भईरहेको छ । सँग सँगै वियर भोड्का बोत्तल हरु बोराका बोरा भित्रिएका छन् । घर घरमा हिरोहिरोइनका नग्न पोष्टरहरु टाँसिएका छन् । हातहातमा बोकेका स्कृन टच मोबाइलले गाउँ का केटाकेटीहरु निलो फिल्ममा चुर्लुम्म डुबेका छन् । दाउराघाँस गर्दा वनमा गुञ्जिने पुराना लोक भाकाको सट्टा सन्नी लियोनका सेक्सी गीत नै बढि बज्न थालेका छन् । गाउँकै ढुङ्गा, माटो, खरले बन्ने घरहरु आजभोली रङ्गीन जस्तापाता, सिमेन्ट, सरिया अनि सिसा र चुनाले सजिन थालेका छन । रङ्गीन थालेका छन् । स्थानीय स्रोत साधन बाट बन्ने चकटी, मान्द्रो, गुन्द्री र खाट को सट्टा कोठा कोठामा महङ्गा सोफासेट, कार्पेट अनि प्लाष्टिकका कुर्सीहरु नै लोकप्रिय भएका छन् । घरघरमा प्लाईउडले बनेका बक्स खाट र ढोकाहरु भित्रिएका छन् । जसले गाउँमा आज सजिलै वर्गविभाजन वा स्तरविभाजन हुन पुगेको छ ।
जीवनशैलीमा व्यापक फेरबदल आएको छ । खानपिन र बसउठमा शहरिया झल्को भेटिन्छ । हिजो नुनेपानी र तिहुन सजिलै चल्थ्यो, तर आज दाल, तरकारी, चट्नी अनिवार्य भएको छ । विहान चिया सँगै खाजा, नास्ता वा ब्रेकफास्ट खाने चलन सँगै मर्निङ्गवाकमा निस्कने बाक्लै भेटिन थालेका छन् । महिलाहरुको गून्यु चोलीको सुन्दर पहिरनको सट्टा सल्यास र भेष्ट सजिलो पहिरन भएको छ । गाउँलेपन झल्काउने ठेट शब्दहरु विस्थापित भएका छन् । चाडबाड मनाउने, विहेवारी गर्ने तरीकामा व्यापक परिवर्तन आएको छ । हिजोको जस्तो मेलापात, जात्राको सट्टा बेला बेला हुने कन्सर्ट र महोत्सवले विस्थापित गराएको छ । हिजोको सालैजो र घिन्ताङ घिन्ताङ मादल आजको ढुकचुक ढुकचुकले पारजित गरेको छ । हिजोका पुराना पैँसेरी, टप्पा र लोक नाचको सट्टा शरीर हल्लाउने र खुट्टा मात्र मर्काउने पाङपुङे नाचले वाहवाह र ताली पाउँछ । परम्परागत तिजे गितमा समेत विकृती छाएको छ । गामनाम स्टायलको तीजे गीतले महिलालाई नै लज्जीत बनाएको छ ।

आज सारा देश खल्बलिएको छ । समाज खल्बलिएको छ । मान्छेका मगज खल्बलिएका छन् । सबै सबै खल्बलिएको छ । पुरानो विस्थापित हुन थालेको छ भने नयाँ स्थापित हुन सकेको छैन् । अझ भन्नुपर्दा नयाँ पनि कस्तो नयाँ पहिचान हुन सकेको छैन । दुई दशकको शक्तिशाली राजनीति मूलत नाराबाट उठेर नारामै सेलाउने स्थिती बनेको छ । त्यै अर्थ र परिणाम विहिन राजनीतिक, सामाजिक, आर्थिक, मुद्धाको पेचिलो असर गाउँको जीवनव्यवहारमा परेको छ । जति आशा र भरोसा थियो, जति संभावना र क्षमता देखिएको थियो ति तिलस्मी नेताहरुको अनुहार आज फुङ्ग धुलो उडेको जस्तो देखिन थालेको छ । नेपालीहरुको लामो प्रतिक्षा र धैर्य आज सिसमहल झैँ झ¥याम झुरुम भएको छ । नेपालीहरुमा आशा भन्दा निराशा वेशी देखिन थालेको छ । शंका, घृणा र तिरस्कारमा राजनैतिक आन्दोलन सकिएको छ । मूलत नेपालमा प्रतिक्रान्ति भएको छ । नेपाली जनताको आज सम्म भएका सबै आन्दोलनमा भएको ठूलो त्याग, वलीदान र लगानी खेर गएको छ । यसको विकल्प अनिवार्य खोज्नुपर्छ, खोजीन्छ । हाम्रो माटो सुहाँउदो, इतिहासको गाथाबाट प्रेरित, युग सुहाँउदो रितिरिवाज, परम्परा र भेषभुषा हुनुपर्छ ताकी आफ्नै ताकतको भरमा उभिन सकौँ । त्यो संभव छ । त्यो परिवेशको निमार्ण तिर जुटौँ । जय गाऊँ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी