काठमाण्डौ ,१४ भदौं ।
प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख दलबीच सहमति गरेर थारु समुदायका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
प्रस्तावित पाँच नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने कंग्रेस सभासदसँगको छलफलमा प्रधानमन्त्री कोइरालाले थारुहरुलाई सांस्कृतिक, राजनीतिक वा विशेष अधिकार दिने विषयमा प्रमुख दलले छलफल गरी टुंगो लगाउने बताउनुभयो ।
छलफलमा सहभागी अधिकांश सभासदले थारु समुदायको क्लस्टर विभाजन नहुने गरी सिमांकन गर्न नेतृत्वलाई सुझाव दिएको सभासद दिपक गिरीले जानकारी दिनुभयो ।
यस्तै प्रधानमन्त्री कोइरालाले प्रमुख दलले पार्टीगत निर्णयका आधारमा संबिधान विधेयक माथि संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको भन्दै व्यक्तिगत रुपमा संशोधन नहाल्न निर्देशन समेत दिनुभएको छ ।
संविधान निर्माण प्रक्रियालाई यथासिघ्र पूर्णता दिनुपर्ने आवश्यकता भएकाले व्यक्तिगत रुपमा संशोधन प्रस्ताव लैजान नहुने उहाँको भनाई थियो । सभासदहरुले रुकुमलाई एउटै प्रदेशमा राख्न समेत सुझाव दिएका छन् ।
सिमांकनमा विवाद देखिएपछि कंग्रेसले प्रस्तावित प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्ना सभासदको राय लिन छलफल आयोजना गरेको हो । उसले यसअघि हिजो ४ नम्बर प्रदेशका सभासदसँग छलफल गरेको थियो ।