इनरुवा, ११ भदौ ।
तेह्र दिनदेखि लगातार भइरहेको बन्दका कारण दैनिक उपभोग्य वस्तुको अभाव भएर सदरमुकाम इनरुवाका जनतालाई सास्ती भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट कोचिला सङ्घर्ष समिति तथा थारु कल्याणकारिणी सभाले गरेको छुट्टाछुट्टै बन्दका कारण सदरमुकाम इनरुवासहित आसपासका बजार पूर्णरुपले बन्द भएपछि दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको हो ।
लगातारको बन्दका कारण उपभोक्तालाई आवश्यक पर्ने चामल, दाल, नुन, तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुको अभाव भएको सुनसरीको बविया गाविसकी सविना खातुनले बताउनुभयो ।
एक महिनाका लागि ल्याइएको खाद्यवस्तुहरु सकिएको र बन्द नखुलेका कारण आफूहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु किन्न समस्या भएको खातुन बताउनुहुन्छ ।
यसैबीच, लगातारको बन्दले सुनसरीको विभिन्न क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको छ । बन्दको बहानामा सुनसरीको सदरमुकाम इनरुवा, दुहवी, लौकही र भन्टाबारी क्षेत्रमा रहेका पेट्रोल पम्पहरुमा पेट्रोलको अभाव भएको हो ।
पेट्रोल र तेलको अभाव भएसँगै सो क्षेत्रमा पेट्रोलियम पदार्थमा कालोबजारीसमेत बढेको पाइएको छ ।
यहाँका पम्पमा प्रतिलिटर १०५ रुपैयाँ ७० पैसामा पाइने पेट्रोललाई दलालहरुले १२५ देखि २२५ सम्ममा बिक्री वितरण गरिरहेका छन् ।