मोरङ, ७ भदौ ।
बन्दका कारण मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा अहिलेसम्म रु एक अर्ब ७० करोडको नोक्सान भएको छ ।
संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण मजदुर–कर्मचारीको तलब, बैंकको ब्याज, भन्सारको ड्यारेज शुल्क, विद्युत्लगायत जोड्दा दैनिक रु १५ करोड नोक्सानी बेहोर्नुपर्ने उद्योग सङ्गठन मोरङका कार्यकारी सचिव सोमनाथ अधिकारीले बताउनु भयो ।
उत्पादन भएका वस्तु निर्यात गर्नसम्म नपाएको, भारतबाट आयत गरिएको वस्तु यातायात बन्दले गर्दा भन्सार नाकामै थन्किएका छन् ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले बन्द हडताल, चक्कजाम र विद्युत् भार कटौतीले गर्दा उद्योगी मारमा परेको बताउनुभयो । उहाँले बन्दकोे चाडै निकास निकालेर उद्योग सञ्चालनको सहज वातावरण बनाइदिन सरकार र सरोकारवाला पक्षलाई आग्रह गर्नुभयो ।
बन्दले दिनानुदिन उद्योगधन्दा कलकारखाना धरासायी हँ’दै गएको छ ।
उद्योग, कलकारखाना, विद्यालय, कलेज, यातयाात, होटल र अस्पतालमा पनि बिरामीको चाप कम छ । मोरङ व्यापार सङ्घका अनुसार पर्यटन, शिक्षा, स्वास्थ्य, पसल, यातायातलगायतका सबै क्षेत्र यतिखेर समस्याग्रस्त बन्दै गएको छ ।
मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा ५०० उद्योग धन्दामा एक लाख मजदुरले प्रत्यक्ष रोजगारी पाएका छन् ।