काठमाडोै, ५ भदौ ।
नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकले विनासकारी भूकम्पका कारण क्षतिग्रस्त तातोपानी–खासा तथा रसुवागढी भन्सार नाका यथाशीघ्र सन्चालन गर्ने र लार्चास्थित निर्माणाधीन सुख्खा बन्दरगाह जतिसक्दो चाँडो निर्माण गर्ने सहमति गरेको छ ।
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच भएको सहसचिवस्तरीय सहमतिमा दुई देशबीच व्यापार प्रवर्द्धनका लागि हाल सञ्चालनमा रहेका छ वटा भन्सार नाकामा पूर्वाधारको विकास गर्ने सहमति भएको हो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला र तिब्बतको प्रतिनिधि मण्डलका प्रमुख डेप्युटी सेक्रेटरी जनरल काइडेन नान्जीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।
सन् २००९ मा गठन भएको नेपाल तिब्बत व्यापार सहजीकरण समितिको काठमाडौंमा भएको छैटौं बैठकले गोरखाको छेकम्पार र लार्के, दोलखाको लामाबगर र मुगु जिल्लाबाट तिब्बत जोड्ने अतिरिक्त तीन व्यापारिक मार्ग स्थापनाका लागि सम्भाव्यता अध्ययन तथा पूर्वतयारी सुरु गर्ने सहमतिसमेत भएको छ ।
द्विपक्षीय व्यापारमा मौद्रिक कारोबारका लागि बैंकिङ कारोबार सुदृढीकरण गर्ने र औद्योगिक वस्तुको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिने पूर्वसम्झौताको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको उहाँको भनाई छ ।