काठमाण्डौ ,५ भदौ ।
भक्तपुरको कमलविनायकस्थित जेन्यूइन सेकेण्डरी ईङ्लिस स्कूलका शिक्षकललाइ कार्वाहि गर्न अभिभावकले माग गरेका छन् । कानको जाली नै फुट्ने गरि विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई विद्यार्थी तथा अभिभावकले कारवाहीको माग गरेका छन् ।
कम्प्युटर शिक्षक निर्जन श्रेष्ठले विद्यार्थीको कानको जाली फुटाई दिएको भन्दै अभिभावकले कारबाहीको माग गरेका हुन् ।
गत बिहीबार स्कूलका कम्प्युटर शिक्षक निर्जन श्रेष्ठले कुटपिट गरि कक्षा ६ मा अध्ययनरत वर्ष १२ का ऐरिकप्रताप थापाको कानको जाली फुटाईदिएको अभिभावकको आरोप छ ।
थापाको बाबु शिवकुमारले शनिबार पत्रकारलाई यसबारे जानकारी दिदै शिक्षकले कक्षामा होमवर्क ढिला गरेको बाहनामा कान र कन्चटमा कुटपिट गरि कानको जाली नै फुटाईदिएको बताउनुभयो ।
अल्का अस्पतालमा उपचार गर्दा अस्पतालले कानको जाली फुटेको रिपोर्ट दिएको बताउँदै उहाँले डाक्टरले कानको अप्रेशन गर्नुपर्ने र अप्रेशन गर्दा पनि कान सुन्न सक्छ भन्ने पक्का भने नभएको अस्पतालले जनाएको बताउनुभयो ।
घाईते विद्यार्थी थापाले घट्नाबारे जानकारी दिदै बिहीबार दिउँसो शिक्षक श्रेष्ठले कक्षा कोठामा होमवर्क गर्दा ‘ए मोटे थापा भर्खर यति मात्रै लेखिस्’ भन्दै दाहिने कन्चट र कानमा हिर्काएपछि कानबाटै रगत आएको बताउनुभयो ।
कक्षामा यसअघि पनि विद्यार्थीहरुलाई दिनदिनै ज्यादती गर्ने, कुटपिट गर्दै ज्यादती गरेको र यसबारे विद्यालयमा उजुरी गरे कक्षामा फेल गरिदिने धम्की दिने गरेकाले कसैले पनि उजुरी गर्न नसकेको थापाले बताउनुभयो ।
थापाले शिक्षक श्रेष्ठलाई विद्यालयले कारबाही नगरी भगाएको बताउँदै उहाँले प्रहरी प्रशासन समक्ष कारबाहीको माग गर्दै सार्वजनिक मुद्दा दायर गरेको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेले विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई माफी मगाउने, विद्यालयबाट बर्खास्त गर्ने र विद्यार्थीको उपचार खर्च गरिदिने निर्णय गरेको बताउनुभयो ।