काठमाण्डौ , ५ भदौ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले अधिकार मागेर हैन लडेर लिनुपर्ने बताउनु भएको छ । उहाले नयाँ बन्ने संविधानमा महिलाको हक अधिकार सुनिश्चित हुने दाबी पनि गर्नुभयो ।
राजधानीमा आयोजीत कार्यक्रममा महिला मन्त्री केसीले महिला अधिकारको सुनिश्चितताका लागि सबै दलसँग परामर्श भइरहेको जानकारी दिनुभयो ।
उनले अधिकार खोजेर हैन लडेर लिनु पर्ने भन्दै सक्षमताका आधारमा राज्यका महत्वपूर्ण निकायमा महिला सहभागिता हुनुपर्ने जिकीर गर्नुभयो ।
बेइजिङ् सम्मेलनपछि महिलाहरु आफ्नो अधिकारको लडाईंमा लागेको भन्दै उनले महिला अधिकारका पक्षमा आफ्नो लडाई जारी रहने स्पष्ट पार्नुभयो ।
बियोण्ड बेइजिङ कमिटीकी अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले राज्यले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो ।
उनले दक्षिण एसिया र एसिया प्रशान्त क्षेत्रमा चालिएका संस्थागत अभियानका बारेमा पनि जानकारी गराउनु भएको थियो ।
कार्यक्रमका सहभागीहरुले पूर्ण महिला अधिकारसहितको संविधान जारी गर्नका लागि दलहरुलाई दवाब दिनुपर्ने बताएका थिए ।