काठमाण्डौ,४ भदौ ।
चेलीबेटी बेचबिखन नियन्त्रण गर्ने उद्धेश्यले स्थापित किङ्डम इन्भेस्टमेन्ट नेपाल कांकरभिट्टा शाखाले १३ सय ९३ जना चेलीहरुलाई परामर्श दिएको छ ।
के.आई. नेपालको आह्वान, मानव बेचबिखन विरुद्धको अभियान भन्ने मुल उद्घोषका साथ गत पुषदेखि सञ्चालनमा आएको शाखाले पछिल्लो ७ महिने अवधिमा उक्त सङ्ख्यामा नेपाली चेलीहरुलाई दलालको फन्दाबाट उम्किने उपायका बारेमा परामर्श प्रदान गरेको शाखा प्रमुख केशर विश्वकर्माले बताए ।
उनका अनुसार गत माघदेखि बितेको साउन महिनासम्ममा परामर्श उपलब्ध गराएकामध्ये उच्च जोखिममा परेका ६९ जनालाई सम्बन्धित चेलीका अभिभावकसंग सम्पर्क गरी सुरक्षित तवरले घर फिर्ता पठाईएको शाखा प्रमुख विश्वकर्माको भनाई छ । त्यस्तै उनीहरुमध्ये ७ जना महिला तथा किशोरीहरुलाई भने विभिन्न सीपमुलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने हेतुले के.आई.नेपालको पुर्नस्थापना गृह चितवनस्थित क्षेत्रीय कार्यालयतर्फ पठाईसकिएको संस्थाले जनाएको छ ।
त्यस्तै सोही अवधिमा मानव बेचबिखनको आशंकामा नियन्त्रणमा लिएका एक जना महिला र एक जना पुरुषलाई इलाका प्रहरी कार्यालय कांकरभिट्टाको अनुसन्धान पश्चात मानव बेचबिखन विरुद्धको मुद्धा चलाईएको बताईएको छ । शंकास्पद शैलीमा सीमा क्षेत्र पार गर्न लागेका महिला तथा किशोरीहरुलाई नाकामै रोकेर सोधपुछ गरी प्रहरी प्रशासनको सहयोगमा आवश्यक कार्वाही प्रक्रिया अघि बढाइने गरेको संस्थाका अध्यक्ष तरुण राईले मिर्मिरे अनलाईनलाई जनाए ।
सीमा नाका हुंदै भारततर्फ जान लागेकाहरुमध्ये शंका लागी नियन्त्रणमा लिएर परामर्श दिएकाहरुमध्ये अधिकांश १५ देखि २० वर्ष उमेर समुहका र झापाका महिला तथा किशोरीहरु रहेका संस्थाकी कोषाध्यक्ष दिलकुमारी श्रेष्ठले बताईन् ।
त्यस्तै परामर्श लिनेमा पनि धेरैजसो ६ देखि १० कक्षासम्म अध्ययन गरेका देशका विभिन्न दुर्गम पहाडी जिल्लाका आर्थिक अवस्था कमजोर भएका अविवाहित किशोरीहरु रहेका छन् । चेलीबेटी बेचबिखन मुलुकको गम्भीर सामाजिक समस्याको रुपमा देखापरेको छ,संस्थाकी कोषाध्यक्ष श्रेष्ठले भनिन् , त्यसैले यस्ता आपराधिक घटना निर्मूल पार्न सीमा नाकामा निगरानी कडा पार्दैआएका छौं ।
के.आई.नेपाल नामक गैह्र सरकारी संस्थाले ललितपुरमा केन्द्रीय कार्यालय स्थापना गरी मुलुकभरका सम्भावित जोखिमयुक्त सीमावर्ती नाकाहरु पूर्वको कांकरभिट्टासहित विराटनगर,वीरगञ्ज,सुनौली,महेशपुर,तौलीहवा,कृष्णनगर,नेपालगञ्ज,धनगढी,महेन्द्रनगर,गोरखा र सिन्धुपाल्चोकमा शाखा कार्यालय विस्तार गरी चेलीबेटीहरुलाई बेचिनबाट जोगाउन विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको जनाईएको छ ।
मानव बेचबिखनका दृष्टिले पूर्वी नाका कांकरभिट्टालाई अति संवेदनशिल नाकाको रुपमा लिएर यस क्षेत्रमा माइती नेपाललगायत साना हातहरु नेपाल नामक गैह्र सरकारी संस्था र पछिल्लो चरणमा के.आई.नेपाल पनि मानव ओसारपसार नियन्त्रणको क्षेत्रमा सक्रियतापूर्वक लागी परेका छन् ।