काठमाडौं, ३ भदौ
उत्तरी गोरखाको ल्हो गाविसमा झरेको पहिरोले गएराति एक जना मृत्यु भएको छ । स्याला गाउँबाट ल्हो गाउँतर्फ आउँदै गर्दा माथिबाट झरेको पहिरोमा पुरिएर ल्हो–९ का ७० वर्षीय पासाङ छिरिङ लामाको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
साथै पहिरोमा परेर छिरिङकी श्रीमती काल्तेन लामा घाइते भएकी छिन । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बुधबार दिनभर स्याला–ल्हो गाउँ आवतजावत गर्ने बाटोमा पहिरो खसेकाले स्थानीयले हिँडडुल गर्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरीनायब उपरीक्षक वसन्त रजौरेका अनुसार घटनास्थलमा अहिले प्रहरीले उद्धार कार्य जारी राखेको छ ।
भूकम्पपछि उत्तरी गोरखामा एक गाउँदेखि अर्को गाउँ पुग्ने बाटो पहिरोले अवरुद्ध छ । बर्सातको बेला पहिरो झर्ने उत्तरी भेगमा बर्सात रोकिएपछि पनि सुक्खा पहिरो झर्ने गरेको स्थानीयहरुको दुखेसो छ ।