काठमाडौं, २ भदौ ।
नयाँ जहाज थपेपछि नेपाल वायुसेवा निगम पुरानै व्यवस्थापनले चल्न नसक्ने भन्दै सरकारले व्यावस्थापनको जिम्मा बिदेशी कम्पनीलाई दिने तयारी सुरु गरेको छ ।
त्यसका लागी निगमले अर्को साता विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गर्दै छ । व्यावस्थापनको जिम्मा बिदेशी कम्पनिले लिएपनि त्यसको खर्च भने सरकारले नै ब्यहोर्नेछ ।
यसअघि नै सरकारले अनुभवी विदेशी कम्पनीलाई व्यवस्थापन दिने निर्णय गरिसकेको र २०७२÷७३ को बजेटमा समेत उल्लेख छ ।
लुफ्थान्सा एयरलाइन्स (जर्मनी)को सहायक कम्पनी लुफ्थान्सा कन्सल्टिङले माघमा निगमको व्यवस्थापन सम्हाल्ने प्रस्ताव पेस गरे पनि बिनाप्रतिस्पर्धा जिम्मेवारी दिन नमिल्ने भन्दै विवाद भएको थियो ।
लुफ्थान्साको प्रस्ताव आकर्षक भए पनि प्रतिस्पर्धाबाटै व्यवस्थापन दिने गरी टेन्डर आह्वान गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
लुफ्थान्सा कन्सल्टिङलाई दिन निगम सञ्चालक समिति, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालय समेत सकारात्मक भइसके पनि सार्वजनिक खरिद ऐनको प्रावधानका कारण प्रतिस्पर्धा गराउन लागिएको हो ।
अर्थले गत महिनामात्रै लुफ्थान्सालाई दिन स्वीकृतिसहितको राय पर्यटन मन्त्रालयलाई पठाएको थियो ।
निगमको व्यवस्थापन विदेशी कम्पनीलाई यसअघि पनि दिइएको थियो । ४६ वर्षअघि (सन् १९७० मा) फ्रान्सको सरकारी वायुसेवा कम्पनी एयर फ्रान्सले निगमको सम्पूर्ण व्यवस्थापन सम्हालेको थियो । उसले जिम्मेवारी लिएको २ वर्षमा निगमले अमेरिकी जहाज निर्माता कम्पनी बोइङद्वारा उत्पादित ७५७ सिरिजका २ जहाज खरिद गरेको थियो । हाल यिनै जहाजले अन्तर्रा्ष्ट्रिय उडान गरिरहेका छन् । ३ वर्ष व्यवस्थापन जिम्मा लिएपछि एयर फ्रान्स फिर्ता गएको थियो ।