धनगढी, १ भदौ ।
लगातारको बन्दले पठन पाठन बन्द हुदा बिद्यार्थीहरु मर्कामा परेका छन । एस एलसी पास हुने बित्तीकै जोश र जागरका साथ माथिल्लो तहमा अध्यन गर्न लागेका बिद्यार्थीहरु भर्ना संगै बन्द हडतालका कार्यक्रम शुरु भई बिद्यालय बन्द भएपछि निराश भएका हुन ।
विजय ओझा भर्खरै कैलाली बहुमुखी क्याम्पस प्रविणता प्रमाणपत्र तहमा भर्ना भएका छन् । उनी भर्ना भएको केही दिनमै क्याम्पसमा अध्ययन अध्यापन कार्य रोकियो ।
ओझाले भने ‘उच्च शिक्षा लिन क्याम्पस भर्ना भए तर, केही दिनमै थरुहट र अखण्ड सुपले गरेको बन्दका कारण क्याम्पसको अध्ययन अध्यापन ठप्प भयो ।’ आफु पहिलो पटक क्याम्पस जान पाएकोमा खुशी भएपनि शुरुवातामै अध्ययन अध्यापनबाट बञ्चित हुँदा उनी दुखी बनेका छन् ।
उनले भने ‘मलाई पढ्न मन अत्यन्तै थियो तर क्याम्पस बन्द भएपछि घरमै बस्नुपर्दा के गरु के नगरु भएको छ ।’ उनी जस्तै अहिले क्याम्पस जानबाट हजारौँ विद्यार्थी बञ्चित भएका छन् । जेठको अन्तिम सातामा एस.एल.सीको परिक्षा नतिजा सार्वजनिक भएसँगै असार पहिलो साताबाट क्याम्पसहरुले भर्ना अभियान शुरु गरे लगत्तै असार १५ गतेबाट अध्ययन अध्यापन कार्य सञ्चालन गरेको क्याम्पसहरुले जानकारी दिए ।
धनगढी नगरपालिका –१ बस्ने गणेश नेपालीले छोरालाई समयमै क्याम्पसमा भर्ना गरे, बिचमा लामो समय बन्द हुँदा छोरालाई अहिले पुस्तक समाउन पनि गाह्रो भएको बताए । उनले भने ‘बन्दका कारण विद्यार्थीहरु मात्र नभएर अभिभावकहरु पनि मारमा परेका छन् ।’ नेपालीका अनुसार ‘नियमित पढाई हुने हो भने विद्यार्थीहरुले मन लगाएर अध्ययन गर्ने बताए । उनले भने ‘नियमित अध्ययनले विद्यालयको नतिजामा पनि सुधार हुने र विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि पनि हुन्छ ।’
लोकतन्त्रमा आफ्ना अधिकार माग्ने सबैले पाउने भए पनि अरुका अधिकार हनन् गर्न नहुने धनगढी नगरपालीका ५, तारानगरका पुष्पराज बिनाडीले बताए । ‘शैक्षिक क्षेत्रलाई बन्दकर्ताहरुले बन्द गर्नु हुँदैन्’ कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र चन्दले भने ‘शैक्षिक क्षेत्र बन्द गर्ने हो भने विद्यार्थीहरुको भविष्यमा नकारात्मक असर पर्ने छ ।’
उनले अध्ययन अध्यापन कार्य ठप्प भएका कारण क्याम्पसको नतिजामा पनि सुधार ल्याउन गाह्रो हुने बताए । क्याम्पस प्रमुख चन्दले एक वर्षमा १ सय ५० देखि १ सय ७० दिनभित्र विद्यार्थीहरुको कोर्ष समाप्त गर्नु पर्ने भएपनि विभिन्न बन्दका कारण कोर्ष समयमै सिध्याउन गाह्रो हुने गरेको बताए ।
उनले भने ‘कहिले चाँड पर्व, कहिले विभिन्न दिवसका कारण कोर्ष पुरा गर्न हम्मे हम्मे हुने झनै आम हडताल भईदिँदा समस्या थपिएको बताए । संघियताको विरोधमा साउन २१ गतेदेखि भएको बन्दका कारण सुदूरपश्चिममा रहेका शैक्षिक सत्रहरु अहिले ठप्प रहेका छन् । नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेकोले शैक्षिक संस्थाहरु निर्वाध रुपमा सञ्चालन गर्न पाउनु पर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी राज कुमार श्रेष्ठले बताए ।
उनले शैक्षिक संस्थाहरुसँग समन्वय गरि सुरक्षा दिन तयार रहेको बताए । बन्दकर्ताहरुको निसानामा सबैभन्दा पहिले शैक्षिक संस्था नै पर्ने गरेका छन । उनिहरु र्याली, जुलश लगायतमा बिद्यार्थीहरुको नै सहभागिता गराईरहेका छन ।