काठमाण्डौ,१ भदौ ।
व्यवस्थापिका संसद्को आजको बैठकमा अधिकांश सभासद्ले सप्तरी जिल्लाको भारदहमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि प्रहरीले गोली प्रहार गरेको भन्दै सरकारको कडा आलोचना गरेका छन ।
सांसद मोहनकुमार राईले वर्षाका कारण बाग्मती नदी बढेर काठमाडौँका धेरै स्थानमा क्षति पु¥याएको, धोबीखोला क्षेत्रमा रहेका सुकुम्बासी टोलका जनता बाढीका कारण आतङ्कित भएको र घरभित्र हिलो र फोहर जम्न गई प्रदूषण बढेकाले सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
यस्तै बलबहादुर महतले आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कर्णाली तथा जुम्लाका जनतालाई प्रहरीले घाइते बनाएकाले तिनको उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद गङ्गाप्रसाद यादवले सप्तरीको भारदहमा प्रहरीको गोलीले एकजनाको मृत्यु भएको र अन्य केही घाइते भएकाले घाइतेको उपचार र मृतकको परिवारलाई क्षति पूर्ति दिन माग गर्नुभयो ।
सांसद गोपाल दहितले हिजो धनगढीमा शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भए पनि थारु समुदायको प्रदर्शनमा दमन गरिएको, कैलालीमा कर्मचारीको मिलेमतोमा अखण्ड सुदूरपश्चिमको पक्षमा कार्यक्रम गर्न लगाएको, सुदूरपश्चिमविरुद्ध जाति विशेषलाई भड्काइएको र केही मधेसी सभासद्ले दिएको अभिव्यक्तिविरुद्ध गृहमन्त्रीले पनि सदनमा भड्काउने काम गरेको भन्दै आपत्ति जनाउनु भयो ।
धेरै जसो सभासदले सप्तरीको भारदहमा जुलुस प्रदर्शनका क्रममा एकजनाको मृत्यु र अन्य केही व्यक्ति घाइते बिषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएपछि सभामुख सुवास नेम्वाङले सरकारतर्फबाट संसद्को अर्को बैठकमा जानकारी गराउन गृहमन्त्रीलाई निर्देशन दिनु भएको छ ।
संसद बैठकमा आज कानून, शान्ति तथा पुनर्निर्माण, भौतिक पूर्वाधार तथा यातायत, अर्थ, स्थानीय विकास, गृह, कृषि लगायतका मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भएको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।