काठमाडौं, ३२ साउन ।
वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले ठगी गर्ने केही वैदेशिक रोजगार व्यवसायीले आफुमाथी आक्रमण गरेको बताउनुभएको छ ।
उहाँमाथि साउन २७ गते आक्रमण भएको थियो । विभागमा सोमबार भएको पत्रकार सम्मेलनमा उहाँले ठगी गर्ने व्यवसायीले कारबाहीमा पर्ने डरले आफूमाथि ‘भाडाका गुन्डा’ प्रयोग गरेर आक्रमण गरेको बताउनु भयो ।
उहाँले आफ्नो पदीय दायित्वअनुसार वैदेशिक रोजगारमा जाने गरिब जनताका हितमा निःशुल्क टिकट, प्रवेशाज्ञा र अभिमुखीकरण संस्थाको अनुगमन र मुद्दा फछर्योटलगायत सुधारका काम गरिरहेका बेला कारबाहीमा पर्ने डरले आफूमाथि आक्रमण भएको जिकिर गर्नुभयो ।
कार्यालय आउने समयमा बाटामा पिछा गरेर बसेका पाँच छ जना युवकले आफूलाई मार्ने योजनामा आक्रमण गरेको बताउदै महानिर्देशक सुवेदीले अपराधीले मेरो आँखा, अनुहार, टाउकोमा ढुङ्गा र अन्य हतियारले आक्रमण गरेका थिए ।
तीन महिनाअघि आफूले मिर्गौला प्रत्यारोपण गरेको जानकारी गराउँदै उहाँले आक्रमणपछि आफू बेहोस हुँदा आक्रमणकारी ‘अब यो मरिसक्यो’ भनेर छाडेर भागेको कुरा आफूले पछि चालकबाट थाहा पाएको बताउनुभयो ।
महानिर्देशक सुवेदीले आफूमाथि आक्रमण गर्ने अपराधीको प्रहरीले खोजबिन गरिरहेको जानकारी गराउँदै सञ्चारकर्मीलाई समेत सहयोग गर्न आग्रह गर्नुभयो ।