काठमाडौं, ३२ साउन ।
संविधानसभाको मस्यौदा समितिले संविधानको मस्यौदा बनाउन अझै केही दिन लाग्ने जनाएको छ ।
विवादित विषयमा सहमति जुट्न नसकेपछि समितिले मस्यौदा लेखनको काम निर्धारीत समयमा नसक्ने जनाएको हो ।
संविधानसभाले समितिलाई आजसम्म मस्यौदा तयार पार्न निर्देशन दिएको थियो । तर शीर्ष नेताहरुले संघीयताको सिमांकनलगायतका विषयमा सहमति जुटाउन नसकेका कारण मस्यौदा समितिसमेत प्रभावित भएको हो ।
समितिको आजको बैठकपछि सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा लेखनको काम सम्पन्न गर्न अझै केही दिन लाग्ने जानकारी दिनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले असन्तुष्ट पक्षहरुसँग छलफल गरी सबैका सुझाव समेट्ने गरी काम गरिने बताउनु भयो ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले तयार पारेको प्रतिवेदनमाथि संविधानसभामा छलफलपछि मस्यौदा समितिलाई संविधानको विधेयक तयार पार्ने जिम्मेवारी दिइएको थियो ।
समितिलाई पाँच दिनभित्र विधेयक तयार पार्न संविधानसभाले निर्देशन दिएको थियो । समितिलाई दिइएको समय सीमा सोमबार सकिँदै छ ।