धनगढी, ३० साउन
नेपाललाई हिन्दु राष्ट्र कायम गर्न दवान दिने उदेश्यले शनिवार धनगढीमा नमुना जनमत संग्रह गरिएको छ । छोटो समयको तयारीमा गरिएको नमुना जनमत संग्रहमा धेरैले सहभागिता जनाएका छन ।
हिन्दु राष्ट्र संरक्षण संघर्ष समिति कैलालीको आयोजनामा नमुना जनमत संग्रह गरिएको हो । शनिबार दिउसो साढे ३ बजे देखी साढे पााच बजे सम्म दुईघण्टा धनगढीको एल एन चोकमा गरिएको जनमत संग्रहमा ४ हजार ७८ जनाले स्वतस्फुर्त रुपमा मतदान गरेका छन । जसमा हिन्दु राष्ट्रको पक्षमा ४ हजार २९, धर्म निरेपेक्षमा २३ र २६ मत बदर भएको जनमत संग्रहमा सहभागी छत्र शाहीले जानकारी दिए । उनले छोटो समयमै गरिएको नमुना मतदानको परिणामबाट पनि नेपाली जनता के चाहान्छन भन्ने स्पष्ट भएको बताए । मतदान र मतगणना खुला रुपमा सडकमै गरिएको थियो ।
मतपत्रमा हिन्दुराष्ट्र वा धर्म निरपेक्षता भन्ने दुईवटा बिकल्पहरु सर्वसाधारणका लागि खुला राखिएको थियो । संघर्ष समितिका संयोजक हरि रेग्मीले बिना प्रचार प्रसार छोटो समयमा धेरै मानिसले नमुना जनमत संग्रहमा भाग लिएको बताए ।
सरकारलाई हिन्दु राष्ट्र घोषणा गर्न दबाब दिन एबं लोकतान्त्रिक बिधि सिकाउन नमुना जनमत संग्रह गरिएको रेग्मीको भनाई छ । माग पुरा गर्न बन्द हडताल मात्रै उपाय नभई बिभिन्न रचनात्मक क्रियाकलापबाट दबाब दिन सकिने हुदा नमुना मतदान गरिएको र जनमत संकलन भैरहेको भन्दै नगरबासीहरु स्वस्फूर्त रुपमा मतदान गर्न आएको उनले बताए ।
मतदान गर्न बुढापाका, महिलाहरु समेत सहभागि थिए । मतदान गर्न ठुलो संख्यामा सर्बसाधारणको उपस्थिती रहेपनि तोकिएको समय सकिएपछि धेरै मानिस मतदान नगरेरै फर्किएका थिए । यो नमुना मतदानको परिणामा प्रमुख जिल्ला अधिकारी मार्फत संबिधानसभा अध्यक्ष, प्रधानमन्त्री र बिभिन्न राजनितिक लदका प्रमुखलाई पठाईने संयोजक रेग्मीले जानकारी दिए । कैलालीमा साउन १२ गते देखि हिन्दु राष्ट्र संरक्षण संघर्ष समितिले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेको छ ।