काठमाण्डौ २७ साउन ।
थरुहट तथा थारुवान संघर्ष समितिले छुट्टै थरुहट प्रदेशको माग गर्दै आज तराईका २२ जिल्ला बन्द गरेको छ
बन्दका कारण सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । उद्योग, कलकारखाना, शिक्षण संस्थान ठप्प भएका छन् ।
यातायातका साधन पनि सञ्चालन हुन सकेका छैनन् ।
बन्द आह्वानकर्ताहरुले बिहानैदेखि ठाउँगाउँमा प्रदर्शन गरिरहेका छन् । थारुहरुको वाहुल्यता रहेका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित कपिलबस्तु, रुपन्देही र नवलपरासीसम्म बन्द गरिएको हो ।
थारुहरुको पहिचान कायम राख्न माग गर्दै आह्वान गरिएको बन्द ३२ गतेसम्म जारी रहने संघर्ष समितिले जनाएको छ ।
प्रदेशको सिमांकन गर्दा दलहरुले थारुहरुलाई अवहेलना गरेकाले दलीय निर्णय मान्न नसकिने जिकीर थारु समुदायका अगुवाहरुको छ ।
उनीहरुले थारुहरुको पहिचान र अधिकार सुनिश्चित हुने गरी प्रदेश सिमांकनको माग गरेका छन् ।