काठमाडौँ, २६ साउन ।
एकीकृत माओवादीका नेता वर्षामान पुन अनन्त ले नयाँ संविधानमा ‘धर्मनिरपेक्ष’को ठाउँमा ‘धार्मिक स्वतन्त्रता’ शब्द उपयुक्त हुने बताएका छन् ।
मंगलबार राजधानीमा आदिवासीहरुले गरेको एक कार्यक्रममा बोल्दै पुनले ‘धर्मनिरपेक्ष’को ठाउँमा ‘धार्मिक स्वतन्त्रता’ शब्द उल्लेख गर्न सकिए त्यसले अधिकांश नेपाली जनताका माग समेट्न सकिने बताएका छन् ।
पुनले देशका विभिन्न ठाउमा भईरहेका पछिल्ला गतिविधिले धार्मिक सद्भावलाई बिथोल्ने खतरा बढेको भन्दै त्यसतर्फ सबैले बेलैमा सचेत बन्नुपर्नेमा जोड दिए ।
उनले विगतमा आफूहरुले गरेको आन्दोलनले धर्मनिरपेक्षता ल्याएको’ भन्दै अहिले अवस्थामा अधिकांशजनताको मागलाई सम्बोधन गर्नका लागि धार्मिक स्वतन्त्रता शब्दावली आवश्यक रहेको समेत तर्क गरेका छन् ।
तेस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले ‘संघीयताको विरोध गरेकै कारण आफ्नो जन्मथलो बाग्लुङलाई टुक्राउने गरी सीमांकन गर्नु दुःखद भएको’ बताए । उनले जनताबाट प्राप्त जनमतलाई ठूला दलहरुले मनपरी ढंगले व्याख्या गरिरहेको आरोप समेत लगाए ।