दोलखा ,२६ साउन ।
दोलखाको डाँडाखर्क गाविस–८ जोगिगाउँमा पहिरोले घर बगाउँदा १४ वर्षीय राजु गिरीको मृत्यु भएको छ ।
भारी बर्षासँगै गएराति १० बजे गएको पहिरोले अन्य तीन घर पनि बगाएको छ ।
घरमाथिबाट आएको पहिरोले बगाउँदा गिरीको मृत्यु भएको हो । पहिरोमा परी उनकी आमा लिलाकुमारी गिरी गम्भीर घाइते भएकी छन् ।
घरमा रहेकाहरुले भागेर ज्यान जोगाएका थिए । पहिरोले बगाउँदा दर्जनौं घरपालुवा पशुसमेत मरेका छन् ।सो क्षेत्रमा अझै ९ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।
बर्षाले बाढी आउँदा दोलखाको चर्नावति खोलाको अस्थायी पुल समेत बगाएको छ ।
उता पाल्पाको दोभानस्थित सिद्धबाबामा पहिरो जाँदा बुटवल–पाल्पा सडकखण्ड अबरुद्ध बनेको छ ।
पहिरोका कारण बुटवल–पाल्पा सडकखण्ड अबरुद्ध भएको हो ।
गत शनिबार पहिरोले माइक्रो बस बगाएकै स्थानमा फेरि पहिरो गएको हो । पहिरोसँगै ठूला–ठूला ढुंगासमेत झरेकाले अहिले बाटो पूर्ण रुपमा बन्द छ ।
बुटवल र पाल्पाबाट डोजर ल्याएर पहिरो हटाउने काम भइरहेको पाल्पाका प्रहरी नायव निरीक्षक तोपबहादुर रानाले जानकारी दिए ।
यसैबीच गत शनिबार पहिरोसँगै तिनाउ नदीमा खसेको माइक्रो बस पानीबाट निकालिएको छ । माइक्रो निकालिए पनि हराइरहेका अन्य यात्रु भने फेला पर्न सकेका छैनन् ।