काठमाडौ २४ साउन ।
लामो समय शिथिल भए पनि अहिले पछिल्लो समय उच्च व्यवसायीक प्रतिस्पर्धामा देखिन थालेको नेपाल वायु सेवा निगमले लामो दुरीको अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइडबडी जहाज खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
नेपालबाट युरोप र एसियाका ठूला शहरमा उडानका लागि निगमले वाइडबडी जहाज खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिनु भयो ।
जहाज खरिद प्रक्रिया लामो हुने भएकाले अहिलेबाट नै तयारी थालिएको हो । आगामी तीन वर्ष भित्रमा २ वटा वाइडबडी जहाज खरिद गर्ने गरी प्रक्रिया अघि बढाउने तयारी भएको कंसाकारले बताउनु भयो ।
यसै साता बस्ने निगम सन्चालक समितिको बैठकले निर्णय गरेपछि प्रक्रिया अघि बढ्ने बताइएको छ ।
यस्तै व्यवस्थापन सुधार र जहाज थप्ने प्रक्रियालाई सँगसँगै अघि बढाउने निगमले जनाएको छ । निगमले हाल ४ वटा न्यु्रो बडी जहाज मार्फत विभिन्न शहरको उडान भरिरहेको छ । सन् १९८७ मा अन्तर्राष्ट्रिय उडानका लागि निगमले २ वटा जहाज खरिद गरेको थियो ।