काठमाडौं,१७ साउन
संसदको आज बैठकमा सरकारले देशका बिभिन्न ठाउमा गएको बाढी पहिरोका बारेमा जानकारी गराएको छ । सरकारका तर्फबाट गृहमन्त्री बामदेव गौतमले हालसम्म बाढी पहिरोबाट विभिन्न जिल्लामा ९० जनाको मृत्यु, ३८ बेपत्ता र ४८ जना घाइते भएको जानकारी दिनु भएको छ ।
बैठकमा मन्त्री गौतमले कास्की, ताप्लेजुङ्ग, म्याग्दी र रोल्पामा पहिरोबाट १ सय १७ घर पूर्ण रुपमा र १ सय २२ घरमा आंशिक क्षति पुगेको जानकारी दिनुभयो । उहाले सरकारले मृतकका परिवारलाई जनही ४० हजार रुपैयाा, घाइतेहरुको नि:शुल्क उपचार र ३१ परिवारलाई पुनस्थार्पना गरेको पनि जानकारी दिनुभयो ।
यस्तै, पहिरोले ५ वटा झोलुङे पुल बगाएको, ३ सय ६३ चौपाया मरेको, एक–एक वटा विद्यालय र मन्दिरमा क्षति पुगेको र २ सय ८६ घर उच्च जोखिमा परेको पनि गृह मन्त्रालयले जनाएको छ ।
गत शुक्रबारको संसद बैठकमा सांसदहरुले बाढी पहिरो पीडितलाई उद्दार तथा राहतबारे सरकारको धारणा माग गरेपछि सभामुख सुवास नेम्वाङले सो विषयमा संसदलाई जानकारी दिन सरकारलाई निर्देशन दिनु भएको थियो ।