काठमाडौ, १५ साउन ।
अविरल वर्षाका कारण अवरुद्ध भएको पोखरा–बागलुङ्ग राजमार्गको पर्वत सडक खण्ड एकतर्फी सुचारु भएको छ ।
पहिरोले सबैभन्दा बढी प्रभावित पर्वतको तिलहार गाउँ बिकास समिति – ९ बेतनी र अँधेरी खोलामा डाइर्भसन निर्माण भएपछि हिजो विहान ३ बजे अबरुद्ध भएको सडक झण्डै १७ घण्टापछि बेलुका ८ बजे देखि एकतर्फी रुपमा गाडी गुड्न थालेको हो ।
डाइभर्सन बनाएर रोकिएका गाडीलाई गन्तब्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले मिर्मिरेलाई बताउनुभयो । अहिलेपनि दुई वटा डोजर र सुरक्षाकर्मीले सडकमा नयाँ ट्रयाक खोल्ने काम गरिरहेका छन् ।
ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी, दोलखाको सिंगटी–लामाबगर सडकखण्ड, सिन्धुपाल्चोकको मार्मिङ्ग र धुस्कुन सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ ।
यता नुवाकोटको ५५ किलो सडकखण्डमा पहिरो खसेपछि उक्त बाटामा समेत यातायात अबरुद्ध छ ।