पोखरा ,१४ साउन ।
बुधबार राति अविरल वर्षासँगै गएको पहिरोको कारण कास्कीको भदौरे तामागी र लुम्लेमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
लुम्लेमा पहिरोले १७ घर बगाउँदा लुम्ले–६ का अर्जुन गुरुङ, रत्ना पौडेल, बसन्त विक, चिजा विक, सम्झना विक, सविना विक, सुनिल विक, मञ्जु सुनार र उनकी ३ महिनाकी छोरीको मृत्यु भएको छ ।
यस्तै, सुमकुमारी जिसी, सुगम जिसी, संगम जिसी, छिरिङ राई, नाम नखुलेकी उनकी श्रीमतीका साथै खिमौरी विक र पद्मा देवकोटाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
यस्तै, भदौरेमा ८ घर बगाउँदा टिकाराम विक, रामकुमारी विक, नन्दकली पराजुली, गौरी पराजुली र करण पराजुलीको मृत्यु भएको छ ।
पहिरोमा परी लुम्लेमा ७ जना घाइते र १५ भन्दा बढी बेपत्ता भएको स्थानीयले जनाएका छन् । भदौरे तामागीमा पनि १३ जना घाइते भएका छन् भने ५ जना बेपत्ता छन् ।