साउन १४ सल्यान
सल्यानको एक विद्यालयलाई वाल विवाह मुक्त विद्यालय घोषणा गरेपछी अहिले विद्यालयमा बाल विवाह रोकिएको छ । सिद्धेश्वरीको ढोरचौरमा रहेको निराजन माविलाई २०७१ बैशाख २१ मा वाल विवाह मुक्त घोषणा गरिएको थियो ।
विद्यालयमा अध्ययनरत बालबालिकाले कम उमेरमा विवाह गर्ने अनि उनिहरुको पढाइमा वाधा हुने भएकाले त्यसको रोकथामका लागि यस्तो कदम चालिएको विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले जनाएका छन ।
विद्यालयमा कम उमेरमा विवाह गर्ने, विवाहपछि पढाई गर्दागर्दै घरायसी समस्याले पढाई छोड्दैजाने विद्यार्थीको संख्या बढ्दै गएपछि यस्तो गरिएको घर्तीले बताए । कम उमेरमा विवाह नगर्न विद्यालयले विभिन्न समयमा सचेतनामुक कार्यक्रम गर्दै आएको छ र त्यसको राम्रो प्रभावकारीता परेको उनले बताएका छन ।
गत बर्ष कम उमेरमा विवाह गर्ने ४ जनालाई विद्यालयले निष्काशन गरेको बताउदै उनले यो बर्ष विवाहित बालबालिका विद्यालयमा नभएको घर्तीले बताए ।
समाजमा सामाजिक रुपमा परिपक्क नहुदै, किशोरावस्तामा नै विद्यालयको पढाई पुरा नगरी विवाह गर्नेको संख्या बढेपछी स्थानिय अभिभावकहरुको भेलाले विद्यालयलाई बाल विवाह मुक्त विद्यालय घोषणा गरिएको हो ।
५ सय ३९ जना विद्यार्थी रहेको विद्यालयमा अहिले कुनैपनि विवाहित बालबालिका नभएको प्रधानाध्यापक घर्तीले जनाएका छन ।